Type Here to Get Search Results !

कलैयामा ट्राफिक प्रहरीमाथि अवैध असुलीको आरोप भारतीय नम्बर प्लेटका सवारी निशानामा

 कलैया, बारा : कलैयामा ट्राफिक प्रहरीले भारतीय नम्बर प्लेटका सवारी साधनलाई लक्षित गर्दै खुलेआम अवैध असुली गर्ने गरेको आरोप सार्वजनिक भएको छ, जसले स्थानीयस्तरमा गम्भीर प्रश्न उठाएको छ।

कलैयामा ट्राफिक प्रहरीमाथि अवैध असुलीको आरोप: भारतीय नम्बर प्लेटका सवारी निशानामा

कलैया–बरियारपुर सडकखण्डअन्तर्गत कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनियास्थित अस्थायी ट्राफिक प्रहरी पोस्टमा कार्यरत केही प्रहरी कर्मचारीले मोटरसाइकल तथा अन्य सवारी रोक्दै विभिन्न बहानामा रकम असुल्ने गरेको स्थानीय तथा सवारी चालकहरूको गुनासो छ।

स्थानीयका अनुसार ट्राफिक जवान निरज कुमार साह, सुशील कुमार यादव तथा सहायक हवल्दार रितेश पटेलले भारतीय नम्बर प्लेटका सवारी चालकसँग प्रति सवारी करिब २०० रुपैयाँसम्म असुल्ने गरेका छन्। ब्लुबुक, लाइसेन्स जाँच तथा मापसे चेकिङको नाममा सवारी रोकी १०० रुपैयाँदेखि १००० रुपैयाँसम्म रकम लिने गरेको आरोप छ।

सवारी चालकहरू भन्छन्, “फाइन काट्ने डर देखाएर पैसा मागिन्छ, तर रकम दिएपछि कुनै बिल वा आधिकारिक प्रमाण दिइँदैन।”

स्थानीय बासिन्दाका अनुसार विशेषगरी साँझपख पैसा उठ्न सक्ने सवारीलाई मात्र लक्षित गरी रोकिने गरेको देखिन्छ। यसले दुर्घटना न्यूनीकरणभन्दा रकम असुलीलाई प्राथमिकता दिइएको आशंका बढाएको छ।

यस्तो गतिविधिले शहर मात्र नभई ग्रामीण क्षेत्रको ट्राफिक व्यवस्थापनसमेत प्रभावित भएको गुनासो बढ्दै गएको छ। यसअघि पनि बारामा ट्राफिक प्रहरीले विभिन्न बहानामा सवारीधनीसँग अनावश्यक रकम असुल्ने गरेको आरोप दोहोरिँदै आएको छ। ट्र्याक्टर, ट्रकमा ओभरलोड सामान तथा म्याजिक भ्यानबाट समेत रकम उठाइने गरेको आरोप छ।

यस विषयमा अस्थायी ट्राफिक प्रहरी पोस्ट कलैयाका इन्चार्ज प्रहरी सहायक निरीक्षक जितेन्द्र मण्डलसँग प्रतिक्रिया लिन खोज्दा उनले असन्तुष्ट भावमा “तपाईं आफ्नो तरिकाले गर्नुहोस्” भन्दै प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।

घटनाबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग स्थानीयले गरेका छन्।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.