कलैया — जेनजी युथ अफ कलैया उपमहानगरपालिका कमिटी को आयोजनामा बृहत रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
भरत चोक मा आयोजित कार्यक्रममा कुल ५४ जनाले रक्तदान गर्दै मानव जीवन बचाउने अभियानमा योगदान दिएका छन्।
“रक्तदान जीवन दान” भन्ने मूल नारासहित सञ्चालन गरिएको कार्यक्रममा ५१ जना पुरुष र ३ जना महिलाले रक्तदान गरेका हुन्। प्रादेशिक अस्पताल कलैया ब्लड बैंक का इन्चार्ज राजाबाबु गुप्ता का अनुसार रक्तदान कार्यक्रमबाट आवश्यक रगत संकलन गरिएको छ।
ब्लड बैंकमा रगतको अभाव भइरहेका बेला सो आवश्यकता पूरा गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संयोजक सौरभ पाण्डे ले जानकारी दिए।
कार्यक्रममा सञ्चारकर्मी प्रहलाद चौरसिया, युवा अभियन्ता रोहित पटेल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा विभिन्न युवाहरूको सक्रिय सहभागिता रहेको थियो।
त्यसैगरी कार्यक्रममा रामबाबु कुमार यादव, अरविन्द साह, नजदा खातुन, कृष्ण यादव लगायतको उपस्थिति रहेको थियो।
यस प्रकारका कार्यक्रमहरूले समाजमा मानवता, सहकार्य र सामाजिक जिम्मेवारीको भावना बढाउने विश्वास गरिएको छ।
