Type Here to Get Search Results !

बारामा निर्वाचन तयारी पूरा: मतपेटिका पठाइयो, सीमा नाका तीन दिन बन्द हुने

 

 जितपुर, बारा: प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै बारामा निर्वाचनसम्बन्धी सम्पूर्ण तयारी पूरा भएको छ। जिल्ला निर्वाचन कार्यालय बाराका निर्वाचन अधिकृत नवीन चौधरीका अनुसार चारवटै निर्वाचन क्षेत्रमा मतपेटिकासहित आवश्यक सामग्री सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकिएको छ।

उनले जानकारी दिएअनुसार निर्वाचन क्षेत्र नं. १, २ र ४ मा केही दिनअघि नै सामग्री पठाइसकिएको थियो भने निर्वाचन क्षेत्र नं. ३ मा आज सामग्री पठाइएको हो। “निर्वाचन कार्यालयबाट गर्नुपर्ने सम्पूर्ण कार्य सम्पन्न भइसकेका छन्,” उनले बताए।

निर्वाचनमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई एकदिने तालिमसमेत प्रदान गरिएको छ। साथै निर्वाचन आचारसंहिता पालना भए/नभएको विषयमा निरन्तर अनुगमन भइरहेको र मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा जिल्ला प्रशासन कार्यालयसँग समन्वय जारी रहेको उनले जानकारी दिए।

vfv


निर्वाचन अधिकृत चौधरीले मतदान गर्नु प्रत्येक नागरिकको मौलिक हक भएको उल्लेख गर्दै सबै मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेका छन्।

यसैबीच, निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न बाराका सीमा नाका तीन दिनका लागि बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालयले फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म भारतसँग जोडिएका सम्पूर्ण सीमा नाका बन्द रहने जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.