कलैया : नेपाल प्रेस युनियन केन्द्रीय कार्यालयले नेपाल पत्रकार महासंघको निर्वाचनका क्रममा कारबाहीमा परेका सदस्यहरूलाई पुनः फुकुवा गर्ने निर्णय गरेको छ। केन्द्रीय अध्यक्ष शिव लम्सालको अध्यक्षतामा शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो।
केन्द्रीय समितिले यसअघि विभिन्न कारणले कारबाही गरेका बारा लगायतका जिल्लाका युनियनकर्मीहरूलाई अब पुनः सक्रिय हुने अवसर दिएको छ। कारबाही फुकुवा हुनेहरूमा नेपाल प्रेस युनियन बारा शाखाका गुरुप्रसाद गौतम र जयनारायण यादव रहेका छन्।
त्यसैगरी, रुपन्देही शाखाकी सदस्य पूजा पन्थी, सुनसरी शाखाका भिषण राई तथा सुर्खेत शाखाका सुसिलराज शर्मा, माया थापा, नारायण खड्का, इश्वर खड्का र नविन सुवेदीलाई पनि कारबाहीबाट मुक्त गरिएको युनियनका केन्द्रीय महासचिव दिलिप पौडेलले जानकारी दिनुभयो।
महासचिव पौडेलका अनुसार प्रेस युनियनको विधान–२०४८ (छैटौं संशोधन–२०७९) को धारा ४४ उपधारा (ग) अनुसार कारबाही फुकुवा गर्ने निर्णय गरिएको हो।
यस निर्णयसँगै सम्बन्धित पत्रकारहरू पुनः संगठनमा सक्रिय हुने बाटो खुलेको छ भने संगठनभित्र एकता र समन्वय थप मजबुत हुने अपेक्षा गरिएको छ।