बारा । बाराको कलैया उपमहानगरपालिकाका विभिन्न स्थानमा बारा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ई. अरविन्द साहले घरदैलो अभियान सञ्चालन गरेका छन्।
कलैया गाउँ, राजदेवी टोल, देवकोटा चोक लगायतका क्षेत्रमा गरिएको घरदैलोका क्रममा साहले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, अपेक्षा र सुझाव संकलन गरेका थिए।
साहले बाराको समग्र विकासका लागि स्थानीय उत्पादन प्रवर्द्धन, कृषि आधुनिकीकरण तथा साना तथा घरेलु उद्योगलाई प्रोत्साहन गर्ने आफ्नो योजना रहेको बताए। स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न सके युवाहरूको विदेश पलायन रोक्न सकिने उनको भनाइ थियो।
उनले सडक, ढल, खानेपानी, विद्युत् र शहरी पूर्वाधारलाई प्राथमिकतामा राखेर योजनाबद्ध विकास अघि बढाउने प्रतिबद्धता जनाए। साथै शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा विस्तार गर्दै ग्रामीण–शहरी विकास अन्तर घटाउने लक्ष्य पनि उनले प्रस्तुत गरे।
युवाहरूलाई लक्षित गर्दै सीपमूलक तालिम, उद्यमशीलता विकास र प्रविधिमैत्री अवसर सिर्जना गर्ने योजना रहेको उनले बताए। नीतिगत सुधारमार्फत लगानीमैत्री वातावरण, पारदर्शिता र सुशासन कायम गर्ने उनको प्रतिबद्धता छ।
घरदैलोका क्रममा स्थानीय बासिन्दाले सडक सुधार, कृषि बजार व्यवस्थापन, रोजगारी अवसर तथा आधारभूत सेवासुविधा विस्तारको माग गरेका थिए। उम्मेदवार साहले ती सुझावहरूलाई आफ्नो चुनावी एजेन्डामा समेटेर क्षेत्रको दिगो विकासमा लाग्ने आश्वासन दिएका छन्।
कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो।