कलैया । होली पर्वलाई सभ्य, सुरक्षित र मर्यादित रूपमा मनाउन जिल्ला प्रहरी कार्यालय बाराले सर्वसाधारणलाई विशेष अनुरोध गरेको छ। पर्वको नाममा उच्छृङ्खल गतिविधि नगर्न तथा कानुनको उल्लंघन नगर्न प्रहरीले चेतावनी दिएको छ। होलीलाई आपसी सद्भाव, भाइचारा र खुसी साटासाट गर्ने पर्वको रूपमा मनाउन आग्रह गरिएको छ।
प्रहरीले कसैको इच्छा विपरीत रङ, लोला, मोबिल, केमिकल वा फोहोर फाल्ने जस्ता कार्य नगर्न सचेत गराएको छ। साथै ध्वनि प्रदूषण हुने गरी चर्को आवाजमा साउन्ड सिस्टम नबजाउन र असभ्य व्यवहार नगर्न पनि अनुरोध गरिएको छ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै बालबालिका, महिला, ज्येष्ठ नागरिक तथा पैदल यात्रुलाई होली खेल्ने नाममा कुनै पनि प्रकारको करकाप वा दुव्र्यवहार नगर्न प्रहरीले आग्रह गरेको छ। सामाजिक सञ्जालमा भ्रम फैलाउने वा उत्तेजित पार्ने सामग्री पोस्ट नगर्न समेत भनिएको छ।
यस्तै, ट्राफिक नियमहरूको पूर्ण पालना गर्न जोड दिँदै प्रहरीले होलीको अवसरमा गाँजा, भाङ तथा अन्य नशालु पदार्थको सेवन र बिक्री वितरणमा कडा प्रतिबन्ध लगाएको जनाएको छ। यस्ता गतिविधि पाइएमा कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।
आसन्न निर्वाचनलाई लक्षित गर्दै सर्वसाधारण, राजनीतिक दल र कार्यकर्तालाई निर्वाचन आचारसंहिता पालना गर्न पनि आग्रह गरिएको छ। यसअघि जिल्ला प्रशासन कार्यालय बाराले मतपरिणाम घोषणा नभएसम्म मादक पदार्थको बिक्री तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाएको थियो।
प्रहरीले कुनै पनि अवाञ्छित वा आपराधिक गतिविधि देखिएमा तुरुन्त जानकारी दिन अनुरोध गर्दै नजिकको प्रहरी कार्यालय, नेपाल प्रहरीको हटलाइन नम्बर १०० वा जिल्ला प्रहरी कार्यालय बाराको ९८५५०४५१०१ मा सम्पर्क गर्न आग्रह गरेको छ।