कलैया । पर्सा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार फरमुल्लाह अन्सारीले चुनावी अभियानलाई तीव्र बनाउँदै मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन्।
यसैक्रममा जीतपुरसिमरा उपमहानगरपालिका–१६ अन्तर्गत बदफर पिलुवा र पैनी टोल क्षेत्रमा सम्पन्न घरदैलो कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भएको छ। प्रचार–प्रसार केन्द्र उद्घाटनसँगै सुरु गरिएको कार्यक्रममा उम्मेदवार अन्सारीले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना एजेन्डा प्रस्तुत गरेका थिए।
घरदैलोका क्रममा स्थानीय मतदाताले अन्सारीलाई आत्मीय स्वागत गर्दै समर्थन र आशीर्वाद व्यक्त गरेका थिए। उनले विशेषगरी युवाको साथले आफूलाई अझ जिम्मेवार बनाएको उल्लेख गर्दै रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, उद्यमशीलताको विकास, पूर्वाधार विस्तार तथा स्वास्थ्य सेवाको सुदृढीकरणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।
नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहेका अन्सारीले समान सहभागिता, समावेशी विकास र युवालाई अवसर सुनिश्चित गर्नु नै आफ्नो मूल एजेन्डा रहेको बताए। साथै, आगामी फागुन २१ गते हुने निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा मतदान गर्न मतदातासँग आग्रह गरे।
कार्यक्रममा नेपाल मुस्लिम संघका केन्द्रीय महासचिव प्रवेज आलम, युवा नेतृ मेघा शाही, समानुपातिक उम्मेदवार प्रियंका दास, राजेश भण्डारी तथा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य गणेश रिजाल लगायत नेता–कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
निर्वाचन नजिकिँदै जाँदा यस क्षेत्रका उम्मेदवारहरूको सक्रियता बढ्दै गएको छ भने मतदातासँग प्रत्यक्ष संवादमार्फत चुनावी माहोल थप तातेको देखिएको छ।