जीतपुर : बारा जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी दिनप्रतिदिन तीव्र बन्दै गएको छ। यसैबीच नेपाली कांग्रेसले आफ्नो पकड थप बलियो बनाउँदै गएको दाबी गरिएको छ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दै ५ हजार ५ सय ४२ मत प्राप्त गरी तेस्रो स्थान हासिल गरेका इच्छा बहादुर वाग्ले नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ। उहाँको यो निर्णयले क्षेत्रीय राजनीतिमा नयाँ समीकरण निर्माण हुने संकेत देखिएको छ।
एक विशेष कार्यक्रमबीच वाग्लेलाई पार्टीमा स्वागत गरिएको थियो। कार्यक्रममा उपस्थित स्थानीय नेताहरूले वाग्लेको अनुभव, संगठन क्षमता र जनआधारले कांग्रेसलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरेका छन्।
पार्टी प्रवेशपछि वाग्लेले आफू विकास, स्थायित्व र लोकतान्त्रिक मूल्य–मान्यताप्रति प्रतिबद्ध भएर कांग्रेसमा आवद्ध भएको बताउनुभयो। उहाँले क्षेत्रको समग्र विकास र जनताको अपेक्षा पूरा गर्न आफू सक्रिय रहने प्रतिबद्धता पनि जनाउनुभयो।
यस निर्वाचन क्षेत्रमा नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्र निर्माण दल नेपाल तथा नेपाल समुन्नत पार्टी लगायतका दलहरूले यसअघि नै आफ्ना उम्मेदवार घोषणा गरिसकेका छन्। उम्मेदवारहरूको सक्रियता बढेसँगै चुनावी माहोल थप तातिँदै गएको छ।
स्थानीय तहदेखि संघीय तहसम्म प्रभाव पार्ने यो क्षेत्र राजनीतिक रूपमा निकै महत्वपूर्ण मानिन्छ। विभिन्न दलहरूले घरदैलो अभियान, भेटघाट तथा अन्तरक्रिया कार्यक्रममार्फत मतदातासमक्ष आफ्ना योजना र एजेन्डा प्रस्तुत गरिरहेका छन्।
यता, स्वतन्त्र रूपमा उल्लेखनीय मत प्राप्त गरेका वाग्लेको कांग्रेस प्रवेशले आगामी निर्वाचनको नतिजामा कस्तो प्रभाव पार्छ भन्ने विषय अहिले सबैको चासोको केन्द्र बनेको छ।