Type Here to Get Search Results !

जीतपुरसिमरामा अपाङ्गता भएका महिला–किशोरीका लागि ४ वर्षे सशक्तीकरण परियोजना सुरु

जीतपुर, बारा — अपाङ्गता भएका महिला तथा किशोरीहरूको अधिकार, सुरक्षा र सशक्तीकरणलाई केन्द्रमा राख्दै जीतपुरसिमरा उपमहानगरपालिकामा रुपान्तरणमुखी परियोजनाको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।

जीतपुरसिमरामा अपाङ्गता भएका महिला–किशोरीका लागि ४ वर्षे सशक्तीकरण परियोजना सुरु

बुधबार आयोजित कार्यक्रममा चार वर्षसम्म सञ्चालन हुने यस परियोजनाले अपाङ्गता भएका महिला–किशोरीलाई हिंसामुक्त वातावरणमा सम्मानजनक जीवनयापन गर्ने अधिकार सुनिश्चित गर्ने लक्ष्य राखेको छ।

मुक्ति नेपाल, गोलबजार (सिरहा) को आयोजनामा सञ्चालन हुने परियोजनाले लैङ्गिक समानता, अपाङ्गता समावेशीकरण तथा सामाजिक न्याय प्रवर्द्धनमा विशेष जोड दिनेछ।

परियोजनाकी कार्यकारी निर्देशक श्यामकुमारी साहका अनुसार स्थानीय सरकार, न्यायिक संयन्त्र र सेवा प्रदायक निकायहरूमा लैङ्गिक समानता तथा अपाङ्गता समावेशी सोच विकास गराउँदै त्यसको प्रभावकारी कार्यान्वयनमा ध्यान केन्द्रित गरिनेछ।

उनले स्थानीय तहका सेवा, पूर्वाधार तथा भौतिक संरचनालाई अपाङ्गता–मैत्री बनाउँदै पहुँच विस्तार गरिने जानकारी दिइन्। साथै लैङ्गिक हिंसाबाट प्रभावित महिला–किशोरी र उनीहरूका परिवारलाई न्यायमा सहज पहुँच, आवश्यक सेवा तथा संरक्षण सुनिश्चित गर्ने कार्य पनि परियोजनाको मुख्य प्राथमिकतामा रहनेछ।

जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, सरोकारवाला निकाय तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

यस परियोजनाले स्थानीय स्तरमा समावेशी विकास र सामाजिक रूपान्तरणतर्फ महत्वपूर्ण कदम चाल्ने अपेक्षा गरिएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.