वीरगञ्ज — सङ्गठित रूपमा हुण्डीमार्फत अवैध आर्थिक कारोबार गरेको आरोपमा एक जनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।
पर्सा जिल्ला अदालत ले वीरगञ्ज महानगरपालिका–१ निवासी प्रशान्तकुमार गुप्ता लाई सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा पठाउने आदेश बुधबार दिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्सा का प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेत का अनुसार गुप्तालाई पुस १७ गते पक्राउ गरी अनुसन्धान अघि बढाइएको थियो।
अनुसन्धानका क्रममा गुप्ताले रक्सौल बाट हुण्डीमार्फत रकम नेपाल भित्र्याई विभिन्न बैंक खातामा जम्मा गर्ने, चेक तथा फोन पे जस्ता विद्युतीय माध्यम प्रयोग गरी रकम लुकाउने र स्थानान्तरण गर्ने जस्ता गैरकानुनी गतिविधि गरेको खुलेको प्रहरीले जनाएको छ।
उक्त आधारमा प्रहरीले उनीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गरेको थियो। अदालतले प्रारम्भिक प्रमाण पर्याप्त देखिएपछि उनलाई थुनामा पठाउने आदेश दिएको हो।
प्रहरीका अनुसार गुप्तामाथि रु १ अर्ब ७९ करोड २१ लाख १५ हजार ८०० बराबरको बिगो दाबी गरिएको छ भने कुल बिगो रकम रु २ अर्ब ४१ करोड ७८ लाख २३ हजार ३७८ कायम गरिएको छ।
पक्राउका क्रममा उनीसँगबाट रु ३३ लाख ५९ हजार २५५ नगदसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
यो घटनाले सीमावर्ती क्षेत्रमा बढ्दो हुण्डी कारोबार र आर्थिक अपराध नियन्त्रणतर्फ सुरक्षा निकायले कडा कदम चालेको संकेत गरेको छ।
