Type Here to Get Search Results !

प्रतिनिधिसभा निर्वाचन २०८२: देशभरका १६५ क्षेत्रमा मतपत्रसहित सम्पूर्ण सामग्री पुगे, तयारी अन्तिम चरणमा

काठमाडौँ : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सबै सामग्री देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुगिसकेको निर्वाचन आयोगले जनाएको छ। यससँगै निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ।

प्रतिनिधिसभा निर्वाचन २०८२


निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार पहिलो हुने निर्वाचित हुने (FPTP) र समानुपातिक (PR) प्रणालीका लागि गरी कुल चार करोड ११ लाख ५३ हजार मतपत्र छपाइ सम्पन्न भई ७७ वटै जिल्लाका सबै निर्वाचन क्षेत्रमा पठाइसकिएको छ।

आयोगले स्वीकृत कार्यतालिकाअनुसार सम्पूर्ण व्यवस्थापकीय कामहरू समयमै सञ्चालन भइरहेको जनाएको छ। केही आवश्यक सामग्री भने जिल्लास्तरमै व्यवस्थापन गरिनेछ भने निर्वाचन अधिकृतको कार्यालयबाट मतदान अधिकृतमार्फत सबै सामग्री मतदान केन्द्रसम्म पुर्‍याइने तयारी गरिएको छ।

मतदाता सचेतना बढाउने उद्देश्यले फागुन ३ गतेदेखि सुरु भएको मतदाता शिक्षा कार्यक्रम फागुन १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहअन्तर्गत ६ हजार ७४३ वडामा निरन्तर सञ्चालन भइरहेको छ। यसले मतदातालाई आफ्नो अधिकार र मतदान प्रक्रियाबारे जानकारी दिन महत्त्वपूर्ण भूमिका खेलिरहेको आयोगको विश्वास छ।

यसैबीच, निर्वाचन आचारसंहिता कार्यान्वयन र अनुगमनलाई पनि कडाइका साथ अगाडि बढाइएको छ। केन्द्रीय आचारसंहिता अनुगमन समिति लगायतका निकायहरू सक्रिय रूपमा खटिएर निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन काम गरिरहेका छन्।

फागुन ४ गतेदेखि राजनीतिक दलहरूले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन्। आयोगले सबै दल तथा उम्मेदवारलाई प्रचलित कानुन र आचारसंहिताको पालना गर्दै सभ्य, मर्यादित र जिम्मेवार ढंगले प्रचार गर्न निर्देशन दिइसकेको छ।

निर्वाचनको मिति नजिकिँदै जाँदा देशभर चुनावी माहोल तातेको छ भने आयोगले शान्तिपूर्ण र व्यवस्थित निर्वाचन सम्पन्न गराउने लक्ष्यसहित तयारीलाई तीव्र बनाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.