बारा : सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था सुधार गर्ने उद्देश्यले बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सिमरा कलेजको सभा हलमा आयोजित उक्त कार्यक्रममा शिक्षा क्षेत्रका विभिन्न सरोकारवालाहरूले वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे खुला छलफल गरेका छन्।
कार्यक्रममा उपमहानगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा शिक्षा क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले विद्यालयमा विद्यार्थी संख्या घट्दै जानु, शैक्षिक गुणस्तर सुधारको आवश्यकता, शिक्षक व्यवस्थापनको समस्या, पर्याप्त पूर्वाधार अभाव तथा प्रविधिमैत्री शिक्षाको कमी जस्ता चुनौतीहरू औंल्याएका थिए।
अन्तरक्रियामा अभिषेक घिमिरेले राष्ट्रिय बृहत शिक्षा अभियानअन्तर्गत शिक्षा क्षेत्रमा आवश्यक सुधारका उपायहरू प्रस्तुत गर्दै कमजोर अवस्थामा पुगेका विद्यालयहरूलाई सक्षम नेतृत्व, दीर्घकालीन योजना र सामूहिक प्रयासमार्फत उत्कृष्ट विद्यालयमा रूपान्तरण गर्न सकिने धारणा राखे। उनले विद्यालय सुधारका लागि समुदाय, शिक्षक र स्थानीय सरकारबीचको सहकार्य अपरिहार्य रहेकोमा जोड दिए।
त्यसैगरी नगर प्रमुख राजन पौडेलले शिक्षा क्षेत्रको विकासका लागि एकल प्रयास पर्याप्त नहुने बताउँदै सबै सरोकारवालाहरूको सक्रिय सहभागिता र जिम्मेवारी आवश्यक रहेको उल्लेख गरे। उनले उपमहानगरपालिकाले आगामी दिनमा सामुदायिक विद्यालयहरूको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै आवश्यक नीति, कार्यक्रम र बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा सहभागीहरूले सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण बढाउन गुणस्तरीय शिक्षण, दक्ष शिक्षक व्यवस्थापन, नियमित अनुगमन तथा प्रविधिको प्रभावकारी प्रयोग आवश्यक रहेको निष्कर्ष निकाले। साथै, विद्यालय सुधारका लागि स्पष्ट कार्ययोजना बनाई त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको थियो।
अन्तरक्रिया कार्यक्रमले शिक्षा क्षेत्रका विद्यमान समस्या पहिचान गर्दै समाधानका सम्भावित उपायहरू खोज्ने महत्वपूर्ण मंचको रूपमा काम गरेको सहभागीहरूको भनाइ रहेको छ।


