Type Here to Get Search Results !

भगवान् रामको जन्मोत्सव आज, देशभर श्रद्धापूर्वक रामनवमी मनाइँदै

जितपुर: असत्यमाथि सत्यको विजयको प्रतीक भगवान् श्री रामचन्द्रको जन्मजयन्तीका अवसरमा आज (शुक्रबार) देशभर रामनवमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। चैत्र शुक्ल नवमीका दिन मनाइने यस पर्वका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा समेत दिएको छ।

भगवान् रामको जन्मोत्सव आज, देशभर श्रद्धापूर्वक रामनवमी मनाइँदै
पौराणिक मान्यता अनुसार त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्याको पुत्रका रूपमा आजकै दिन भगवान् रामको जन्म भएको थियो। उनलाई भगवान् विष्णुको सातौँ अवतारका रूपमा पूजा गरिन्छ। पुनर्वसु नक्षत्रमा जन्मिएका रामको कुण्डलीमा कर्कट लग्नसहित चन्द्रमा र बृहस्पतिको योग रहेको र सूर्य, मङ्गल, गुरु, शुक्र तथा शनि एकै स्थानमा रहेका दुर्लभ योग रहेको धर्मग्रन्थहरूमा उल्लेख छ। यही दिव्य योगमा जन्मिएका रामले अन्याय र अधर्मको अन्त्य गरी आदर्श ‘रामराज्य’ स्थापना गरेको विश्वास गरिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार रामनवमी पर्वले मानिसलाई मर्यादा, अनुशासन र आदर्श जीवनशैली अपनाउन प्रेरित गर्छ। धार्मिक ग्रन्थअनुसार चैत्र अष्टमी र नवमीमा विशेष पूजा, जप र ध्यान गरे मनोकामना पूरा हुने जनविश्वास छ। आजका दिन देवीको आराधनासँगै भगवान् रामको पूजा गर्दा ऐश्वर्य प्राप्त हुने मान्यता रहेको छ।

यस अवसरमा जनकपुर र अयोध्यामा विशेष चहलपहल देखिएको छ। भगवान् रामको ससुराली मानिने जनकपुरस्थित रामजानकी मन्दिरमा नेपाल र भारतबाट आएका हजारौँ श्रद्धालुहरूको भीड लागेको छ। साथै, विभिन्न स्थानमा रामलीला, भजन–कीर्तन तथा रामायण वाचनका कार्यक्रमहरू आयोजना भइरहेका छन्।

यस्तै, बारा र पर्सा जिल्लामा पनि रामनवमीका अवसरमा विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू भव्य रूपमा सम्पन्न भइरहेका छन्।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.