Type Here to Get Search Results !

बारा–१ मा विजय यादव ‘निर्विज’को २३ बुँदे घोषणापत्र सार्वजनिक, ‘अबकी बार जनता सरका

बारा जिल्ला : प्रतिनिधिसभा निर्वाचनको माहोल तातिँदै जाँदा आम जनता पार्टी (आजपा) का उम्मेदवार विजय यादव ‘निर्विज’ ले बारा निर्वाचन क्षेत्र नं. १ मा आफ्नो २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।

बारा–१ मा विजय यादव ‘निर्विज’को २३ बुँदे घोषणापत्र सार्वजनिक, ‘अबकी बार जनता सरका

कोल्हवी स्थित निर्वाचन परिचालन सम्पर्क कार्यालयमा आयोजित कार्यक्रममा उनले मतदातासामु आफ्नो चुनावी एजेन्डा प्रस्तुत गरेका हुन्। “अबकी बार जनता सरकार” भन्ने नारासहित मैदानमा उत्रिएका यादवले भ्रष्टाचार, दलाली प्रवृत्ति र कमजोर शासन व्यवस्थाको अन्त्य गर्दै जनमुखी शासन स्थापना गर्ने लक्ष्य राखेका छन्।

उनले बारा जिल्लाको समग्र विकासलाई केन्द्रमा राख्दै पर्यटन, उद्योग, कृषि, पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएका छन्। ऐतिहासिक सिम्रौनगढ लाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने तथा पातालगंगा क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उनको योजना छ।

त्यस्तै, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल को शीघ्र निर्माण, शून्य कर नीति लागू गर्दै उद्योग प्रवर्द्धन, कृषि आधुनिकीकरण तथा किसानका लागि पेन्सन व्यवस्था गर्ने प्रतिबद्धता उनले जनाएका छन्। “हर हातमा हुनर” अभियानमार्फत युवालाई सीप र रोजगारीसँग जोड्ने योजना पनि उनले अघि सारेका छन्।

पूर्वाधार विकासअन्तर्गत प्रत्येक गाउँसम्म सडक विस्तार, आधुनिक सिंचाइ व्यवस्था, व्यवस्थित ढल प्रणाली तथा नयाँ शहर विकासका लागि ल्यान्डपुलिङ योजना ल्याउने उनको लक्ष्य छ। साथै, गरिब, दलित र भूमिहीनका लागि आवास तथा जमीन सुनिश्चित गर्ने उनले बताएका छन्।

शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रत्येक नगरमा मोडेल अस्पताल स्थापना, आधुनिक शैक्षिक पूर्वाधार निर्माण तथा डिजिटल सेवाको विस्तार गर्दै निःशुल्क वाइफाइ सेवा उपलब्ध गराउने योजना पनि उनले सार्वजनिक गरेका छन्।

“जनताको आवाज संसदमा पुर्‍याउने मेरो संकल्प हो,” भन्दै यादवले जनताको आवश्यकता र अपेक्षालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा एलिजा गौतम, रञ्जु चौधरी, राजकिशोर साहरामशरण यादव लगायत पार्टीका नेताहरूको उपस्थिति रहेको थियो।

यस घोषणापत्रसँगै बारा–१ मा चुनावी माहोल थप सक्रिय, प्रतिस्पर्धात्मक र परिवर्तनमुखी बन्दै गएको देखिएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.