पर्सा — आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले महत्वपूर्ण निर्णय लिएको छ। भारतसँग जोडिएको अन्तर्राष्ट्रिय सीमा नाका ७२ घण्टाका लागि बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय पर्सा का सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेल का अनुसार फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म सीमा नाका पूर्ण रूपमा बन्द रहनेछ।
पर्सासँग सीमा जोडिएका भारतको बिहार राज्यअन्तर्गतका पूर्वी चम्पारण र पश्चिम चम्पारण जिल्लासँग आवतजावत रोक्ने निर्णय गरिएको हो। प्रशासनका अनुसार निर्वाचनका बेला नेपाल–भारत दुवै देशले सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै सीमा बन्द गर्ने परम्परा रहँदै आएको छ।
यसैबीच, होली पर्वलाई शान्तिपूर्ण र मर्यादित रूपमा मनाउन प्रशासनले विशेष आग्रह गरेको छ। सार्वजनिक स्थानमा भीडभाड गर्ने, होहल्ला गर्ने, जबर्जस्ती रङ दल्ने तथा मदिरा सेवन गरी सामाजिक सद्भाव बिगार्ने गतिविधि नगर्न चेतावनी दिइएको छ।
त्यस्तै, कुनै पनि राजनीतिक दल वा उम्मेदवारको झण्डा वा चुनाव चिह्न अंकित कपडा लगाएर होली मनाउनसमेत निषेध गरिएको छ।
प्रशासनले होलीका दिनहरूमा हुने सवारी दुर्घटनालाई ध्यानमा राख्दै फागुन २० गते मोटरसाइकल प्रयोग गरी होली खेल्नसमेत रोक लगाएको जनाएको छ।
यसबाहेक, फागुन १९ गतेदेखि निर्वाचन परिणाम घोषणा नभएसम्म जिल्लाभर कुनै पनि राजनीतिक दलको प्रचारप्रसार, सभा–जुलुस तथा धार्मिक, सांस्कृतिक वा सामाजिक कार्यक्रममा ध्वनि प्रदूषण हुने किसिमका बाजा बजाउन निषेध गरिएको छ।
यी निर्णयहरूले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गराउने लक्ष्य राखिएको प्रशासनले स्पष्ट पारेको छ।