Type Here to Get Search Results !

अम्लेखगञ्जमा ट्यांकर व्यवसायीको आन्दोलन: ढुवानी बन्दले १०४ सवारी निष्क्रिय, रोजगारी संकटमा

 बारा :-  बरौनी–अम्लेखगञ्ज पेट्रोलियम ढुवानी बन्द भएपछि प्रभावित साना ट्यांकर व्यवसायी र चालकहरू आन्दोलनमा उत्रिएका छन्। नेपाल आयल निगम को प्रादेशिक डिपो अम्लेखगञ्जमा आबद्ध १०४ वटा ट्यांकरलाई तत्काल आन्तरिक ढुवानीमा प्रयोग गर्नुपर्ने माग गर्दै उनीहरूले विरोध जनाएका हुन्।

अम्लेखगञ्जमा ट्यांकर व्यवसायीको आन्दोलन: ढुवानी बन्दले १०४ सवारी निष्क्रिय, रोजगारी संकटमा

बिहीबार आन्दोलनका क्रममा ट्यांकर व्यवसायी तथा चालकहरूले करिब एक घण्टासम्म डिपोमा लोड–अनलोड कार्य ठप्प पारे। पाइपलाइनमार्फत डिजेल, पेट्रोल र मट्टितेल आयात सुरु भएपछि निगमले ट्यांकरमार्फत हुँदै आएको ढुवानी बन्द गरेको हो, जसले सयौँ श्रमिकको रोजगारीमा प्रत्यक्ष असर परेको छ।

निगमले ती ट्यांकरलाई काठमाडौँ, पोखरा, भैरहवा र विराटनगरका विमानस्थलमा हवाई इन्धन ढुवानीमा प्रयोग गर्ने निर्णय गरे पनि आवश्यक मर्मत र ट्यांकी परिवर्तनका कारण चालकहरूले ३–४ महिना ग्यारेजमै पालो कुर्नुपर्ने अवस्था रहेको गुनासो गरेका छन्।

अखिल नेपाल मजदुर संघका अध्यक्ष मानसिंह लामा ले लामो समयसम्म ट्यांकर निष्क्रिय रहँदा साना व्यवसायीको जीविकोपार्जन संकटमा पर्ने बताए। “चार महिनासम्म गाडी थन्किँदा बैंकको किस्ता र परिवारको खर्च कसरी धान्ने?” उनले प्रश्न गरे।

ट्यांकर चालक श्याम मगर का अनुसार आफूहरू जहाँसुकै ढुवानी गर्न तयार भए पनि मर्मतको पालो नआउञ्जेलसम्म काम दिनुपर्ने माग रहेको छ। त्यस्तै स्थानीय व्यवसायी कृष्ण ठकुरी ले पहुँचका आधारमा केहीले धेरै काम पाउने तर अन्य ट्यांकर निष्क्रिय हुने अवस्था रहेको आरोप लगाए।

हाल अम्लेखगञ्ज डिपोमा १२७ ट्यांकर निजी ढुवानी प्रयोजनका लागि आबद्ध छन्, जसले मासिक ३०–३२ पटकसम्म ढुवानी गर्दै आएका थिए। तर हालको व्यवस्थाले ठूलो संख्यामा सवारी निष्क्रिय बनेका छन्।

डिपो प्रमुख प्रलयङ्कर आचार्य ले भने केन्द्रको निर्देशनविपरीत निर्णय गर्न नसकिने स्पष्ट पार्दै बन्द गरिएका ट्यांकर पुनः सञ्चालन गर्न नसकिने बताए।

निगमले माघ १२ गतेदेखि १०४ ट्यांकरलाई बरौनी–अम्लेखगञ्ज ढुवानीबाट हटाएको हो। यसअघि नै केन्द्रीय कार्यालयले ट्यांकर व्यवस्थापनसम्बन्धी सूचना जारी गरिसकेको थियो।

ट्यांकर व्यवसायीहरूको माग स्पष्ट छ—मर्मत र व्यवस्थापन पूरा नहुँदासम्म आन्तरिक ढुवानीको वैकल्पिक व्यवस्था गरियोस्। अन्यथा रोजगारी संकट थप गहिरिने चेतावनी उनीहरूले दिएका छन्।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.