पर्सा, वीरगञ्ज : चालु आर्थिक वर्षको पहिलो छ महिनामै वीरगञ्ज नाकाबाट विद्युतीय सवारीसाधन (EV) आयातमा उल्लेखनीय वृद्धि भएको छ। यस अवधिमा कुल ४५६ वटा विद्युतीय सवारी आयात हुँदा यसको मूल्य करिब १ अर्ब ३६ करोड २९ लाख रुपैयाँ पुगेको छ।
वीरगञ्ज भन्सार कार्यालय का अनुसार यी सवारी आयातबाट मात्र ८७ करोड ८४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ। सूचना अधिकारी उदयसिंह विष्ट ले EV आयात बढेसँगै राजस्वमा पनि वृद्धि भएको बताएका छन्।
गत आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा EV आयात संख्या ३३२ ले बढेको छ। अघिल्लो वर्षको पहिलो छ महिनामा १२४ वटा मात्र विद्युतीय जीप, कार र भ्यान आयात भएका थिए, जसको मूल्य ३० करोड २६ लाख रुपैयाँ थियो र २४ करोड २९ लाख राजस्व उठेको थियो।
यता इन्धनबाट चल्ने सवारीसाधनतर्फ भने फरक प्रवृत्ति देखिएको छ। चालु आवमा ९३ करोड रुपैयाँ मूल्यका ४३४ वटा जिप, कार र भ्यान आयात हुँदा २ अर्ब ५६ करोड राजस्व सङ्कलन भएको छ।
गत वर्षको सोही अवधिमा भने ५९२ वटा इन्धन सवारी आयात भएका थिए, जसको कुल मूल्य १ अर्ब १७ करोड रुपैयाँ थियो र ३ अर्ब ९ करोड राजस्व सङ्कलन भएको थियो।
यस तथ्यांकले नेपालमा विद्युतीय सवारीप्रति आकर्षण बढ्दै गएको संकेत दिएको छ। वातावरणमैत्री यातायाततर्फको झुकाव, सरकारी नीतिगत सहुलियत तथा बढ्दो इन्धन मूल्यका कारण EV प्रयोगमा वृद्धि भएको विश्लेषण गरिएको छ।