काठमाडौं: नेपाली कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा औपचारिक रूपमा घोषणा गरेको छ। शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो। बैठकपछि पार्टी प्रवक्ता देवराज चालिसेले सञ्चारकर्मीलाई जानकारी दिँदै गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रस्ताव पारित भएको पुष्टि गरे।
बैठकमा उपसभापति विश्वप्रकाश शर्माले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव पेश गरेका थिए। सो प्रस्तावलाई केन्द्रीय कार्यसमितिले सर्वसम्मत रूपमा समर्थन गर्दै पारित गरेको प्रवक्ता चालिसेले बताए।
नेपाली कांग्रेसले मुलुकको वर्तमान राजनीतिक, सामाजिक र आर्थिक अवस्थालाई मध्यनजर गर्दै यो निर्णय गरिएको जनाएको छ। पार्टीका अनुसार अहिले देश विशेष परिस्थितिबाट गुज्रिरहेको अवस्थामा स्पष्ट दृष्टिकोण, संयमित नेतृत्व र परिवर्तनको चाहना बोकेको व्यक्ति आवश्यक भएको निष्कर्षका साथ गगन थापालाई अगाडि सारिएको हो।
उपसभापति विश्वप्रकाश शर्माले बैठकमा गगन थापाको नेतृत्व क्षमताबारे धारणा राख्दै उनले परिवर्तित समय, जनभावना र राजनीतिक स्वरलाई ‘डाइनामिक ढंगले’ नेतृत्व गर्न सक्ने विश्वास व्यक्त गरेका थिए। उनले गगन थापालाई केवल जुझारु र विद्रोही छविमा सीमित नराखी, कठिन र प्रतिकूल परिस्थितिमा पनि संयम राखेर परिपक्व ढंगले समस्या समाधान गर्न सक्ने नेता भएको उल्लेख गरे।
‘उत्तेजना र आवेगको राजनीति न सुसंस्कृत हुन्छ न दीर्घकालीन,’ शर्माले बैठकमा भनेका थिए। उनका अनुसार देशलाई स्थिरता र सुशासनतर्फ लैजान संयम, सौम्यता र विवेकपूर्ण नेतृत्व अत्यावश्यक छ, जुन गुण गगन थापासँग पर्याप्त मात्रामा रहेको पार्टीको ठहर छ।
शर्माले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा गगन थापालाई अघि सार्नु पार्टीको समग्र अठोट र दिशाको प्रतिबिम्ब भएको बताए। ‘यो समग्र प्रतिबद्धताको बलियो नेतृत्व प्रधानमन्त्रीका रूपमा गगन थापाबाट सम्भव छ भन्नेमा हामी दृढ छौं,’ उनले बैठकको निर्णय सार्वजनिक गर्दै भने।
नेपाली कांग्रेसको यो निर्णयले पार्टीभित्र नयाँ पुस्ताको नेतृत्वलाई औपचारिक रूपमा अगाडि ल्याउने संकेत गरेको छ भने आगामी राजनीतिक समीकरण र चुनावी रणनीतिमा पनि यसको प्रभाव पर्ने अपेक्षा गरिएको छ।
