पर्सा : वीरगञ्जमा अवैध गोदाममा छापा मार्न गएका सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने घटनामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
गत सोमबार वीरगञ्ज को आदर्शनगरस्थित एक गोदाममा वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बल नेपाल को संयुक्त टोलीले छापा मार्ने क्रममा स्थानीय व्यापारी समूहले आक्रमण गरेका थिए।.
आक्रमणमा तीन जना सशस्त्र प्रहरी घाइते भएका थिए भने प्रहरीका दुई वटा सवारीसाधनमा क्षति पुगेको थियो।
जिल्ला प्रहरी कार्यालय पर्सा का प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेत का अनुसार घटनामा संलग्न चार जनालाई सोमबार रातिसम्म पक्राउ गरिएको छ।
उनका अनुसार घटनाको विस्तृत अनुसन्धानका लागि सिसिटिभी फुटेजको अध्ययन भइरहेको छ। “संलग्न अन्य व्यक्तिहरूको पहिचान र अनुसन्धान जारी रहेकाले नामहरू पछि सार्वजनिक गरिनेछ,” उनले बताए।
प्रहरीका अनुसार भन्सार छली गरी ल्याइएको आशङ्कामा मदनप्रसाद गुप्ता को घरमा अवैध रूपमा राखिएको कपडा बरामद गर्ने क्रममा झडप भएको हो।
उक्त स्थानबाट करिब १२ लाख ५० हजार रुपैयाँ बराबरको सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
यस घटनाले सीमावर्ती क्षेत्रमा बढ्दो अवैध व्यापार र त्यसविरुद्धको कारबाहीमा देखिएको प्रतिरोधलाई उजागर गरेको छ।
