Type Here to Get Search Results !

कोल्हवीमा दुई सडक कालोपत्र र विद्यालय भवन शिलान्यास, विकासले लियो गति

कोल्हवी : कोल्हवी नगरपालिका मा पूर्वाधार विकासले गति लिएको छ। नगरअन्तर्गत दुई महत्वपूर्ण सडक खण्ड कालोपत्र हुने भएका छन् भने एक विद्यालय भवनको शिलान्यास पनि गरिएको छ।

कोल्हवीमा दुई सडक कालोपत्र र विद्यालय भवन शिलान्यास, विकासले लियो गति

वडा नं. ९ अन्तर्गत अरेम्बा–खगदे पडरी सडक र वडा नं. ४ अन्तर्गत सपही–बन्ठाकट्टी चौक सडक खण्ड कालोपत्र निर्माणका लागि सोमबार औपचारिक रूपमा आयोजना सुरु गरिएको हो।

यी दुवै सडक निर्माणको जिम्मा श्री विकास राजा पहल जे.भी. ले लिएको छ। अरेम्बा–खगदे पडरी सडकका लागि करिब १ करोड ८४ लाख रुपैयाँभन्दा बढी लागतमा ठेक्का सम्झौता गरिएको छ भने सपही–बन्ठाकट्टी चौक सडकका लागि करिब १ करोड ६८ लाख रुपैयाँको बजेट छुट्याइएको छ। दुवै सडक २०८३ असार १० गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

सडक कालोपत्र भएपछि धुलो र हिलोको समस्या अन्त्य हुने विश्वास स्थानीयले व्यक्त गरेका छन्। साथै, उनीहरूले निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न गर्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन्।

यसैबीच वडा नं. ६ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय अधनावा मा चार कोठे नयाँ विद्यालय भवनको शिलान्यास गरिएको छ। नगर प्रमुख रामप्रसाद चौधरी ले शिलान्यास गरेका उक्त भवन ६१ लाख रुपैयाँको लागतमा निर्माण हुनेछ।

विद्यालयका प्रधानाध्यापक गुरु चौधरी का अनुसार भवन निर्माण सम्पन्न भएपछि कक्षा कोठाको अभाव हट्नेछ र शिक्षण सिकाइ वातावरणमा सुधार आउनेछ।

कार्यक्रममा उपप्रमुख लक्ष्मी कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत रमेश श्रेष्ठ, विभिन्न वडाका अध्यक्षहरू, इन्जिनियर तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यी योजनाहरूले कोल्हवी क्षेत्रमा यातायात सहजता, शिक्षा सुधार र समग्र विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.