Type Here to Get Search Results !

तामागढी सहकारीको १८औँ स्थापना दिवसमा अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

 

कोल्हवी । बाराको कोल्हवीस्थित तामागढी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १८औँ स्थापना दिवसको अवसरमा अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ। शैक्षिक तथा बौद्धिक विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले बिहीबार कोल्हवी–सपहीस्थित सपही माध्यमिक विद्यालयको प्राङ्गणमा प्रतियोगिता सम्पन्न गरिएको हो।

gtvf
सहकारीको कार्यक्षेत्रभित्र पर्ने कोल्हवी नगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका र करैयामाई गाउँपालिकाका १२ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरूले प्रतिस्पर्धामा सहभागिता जनाएका थिए। प्रतियोगिता उत्साहपूर्ण र प्रतिस्पर्धात्मक बनेको आयोजकले जनाएको छ।

प्रतियोगितामा अनुपदिपनी माध्यमिक विद्यालय प्रथम, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सपही द्वितीय तथा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरा तृतीय भएका छन्। विजेता विद्यालयहरूलाई शुक्रबार विशेष कार्यक्रममार्फत नगद पुरस्कारसहित सम्मान गरिने सहकारीका सचिव रामकाजी खड्काले जानकारी दिए।



संस्थाकी उपाध्यक्ष कालिका दवाडी भण्डारीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा शिक्षक प्रतिनिधि तथा सञ्चालक समिति सदस्यहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन मुख्य प्रबन्धक बासुदेव रिमालले गरेका थिए भने स्वागत मन्तव्य सञ्चालक सदस्य सन्तोष पाण्डेले व्यक्त गरेका थिए।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.