जितपुर बारा :प्रसौनी गाउँपालिका ले कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट प्रदर्शन गर्दै बारा जिल्लामा पहिलो र मधेश प्रदेशभर दोस्रो स्थान हासिल गरेको छ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को मूल्याङ्कनअनुसार प्रसौनी गाउँपालिकाले ७०.२४ अंक प्राप्त गर्दै जिल्लामा अग्रस्थान ओगट्न सफल भएको हो।
आयोगले देशभरका स्थानीय तहहरूको सेवा प्रवाह, वित्तीय अनुशासन, पारदर्शिता, योजना कार्यान्वयन तथा समग्र प्रशासनिक कार्यसम्पादनका आधारमा मूल्याङ्कन गरेको हो।
मधेश प्रदेशमा भने पर्सागढी नगरपालिका ७२.९९ अंकसहित पहिलो स्थानमा रहेको छ भने पटेर्वा सुगौली गाउँपालिका ६७.९९ अंकसहित तेस्रो स्थानमा रहेको छ।
बारा जिल्लाका अन्य स्थानीय तहहरूको अवस्था हेर्दा परवानीपुर गाउँपालिका ले ६५.१७ अंक प्राप्त गरेको छ भने पचरौता नगरपालिका (५६.३३), सिम्रौनगढ नगरपालिका (५१.३५), करैयामाई गाउँपालिका (५०.४५), देवताल गाउँपालिका (५०.३२) र आदर्श कोटवाल गाउँपालिका (५०.१०) अंकमा रहेका छन्।
यसैगरी विश्रामपुर गाउँपालिका (४९.६३), कलैया उपमहानगरपालिका (४९.५७), फेटा गाउँपालिका (४९.५५), महागढीमाई नगरपालिका (४९.३१), जीतपुरसिमरा उपमहानगरपालिका (४८.३९), निजगढ नगरपालिका (४१.४७), बारागढी गाउँपालिका (४१.०८), कोल्हवी नगरपालिका (३९) र सुवर्ण गाउँपालिका (३७.९६) अंक प्राप्त गरेका छन्।
प्रसौनी गाउँपालिकाले पारदर्शी शासन, प्रभावकारी सेवा प्रवाह र सुदृढ वित्तीय व्यवस्थापनमा देखाएको प्रतिबद्धताका कारण यो सफलता हासिल गरेको जनाइएको छ।
यो उपलब्धि बारा जिल्लाकै लागि गौरवको विषय बनेको छ। साथै, यस्ता मूल्याङ्कनले स्थानीय तहहरूबीच सकारात्मक प्रतिस्पर्धा सिर्जना गर्दै सुशासन प्रवर्द्धन र क्षमता अभिवृद्धिमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
