जितपुर बारा: कलैया उपमहानगरपालिका–२ दोहरी की एक किशोरीले सामाजिक परिवर्तनको अभियानमा महत्वपूर्ण जिम्मेवारी पाएकी छन्। दीपिका कुमारी मण्डल “बालविवाह मुक्त अभियान” अन्तर्गत मधेश प्रदेशको ब्राण्ड एम्बेसडर घोषित भएकी छन्।
काठमाडौं मा सोमबार आयोजित विशेष कार्यक्रममा उनलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो। किशोरी स्वयंलाई अभियानको नेतृत्वमा ल्याउनु बालविवाह जस्तो गम्भीर सामाजिक समस्याविरुद्ध सकारात्मक कदमका रूपमा हेरिएको छ।
ब्राण्ड एम्बेसडर घोषणा भएपछि जन जागरण युवा क्लब बारा ले मंगलबार कलैयामा एक कार्यक्रम आयोजना गरी मण्डललाई सम्मान गरेको छ। क्लबका कार्यबाहक अध्यक्ष राजदेव प्रसाद साह ले फूलमाला र दोसल्ला ओढाएर उनलाई सम्मान गर्नुभएको थियो।
कार्यक्रममा अभियानकी फोकल पर्सन मिना गुप्ता, क्लबका सियाराम यादव लगायतका पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन मुनीलाल बैठा ले गर्नुभएको थियो।
सहभागीहरूले बालविवाहजस्तो सामाजिक कुप्रथाविरुद्ध आवाज उठाउन किशोरीलाई नै नेतृत्वमा ल्याइनु अत्यन्तै प्रेरणादायी कदम भएको बताएका छन्। यसले समाजमा चेतना अभिवृद्धि गर्नुका साथै बालविवाह अन्त्य अभियानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।