निजगढ, बारा : दोस्रो विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिता उत्साहका साथ सुरु भएको छ। उद्घाटन खेलमै वडा नं. १३ ले वडा नं. ५ लाई सडनडेथमा पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
निजगढ–९ स्थित शहीद हिरालाल रंगशालामा शनिबार सम्पन्न उद्घाटन खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो। खेलको पहिलो हाफको १३ औँ मिनेटमा वडा नं. १३ का जर्सी नम्बर १५ का प्रितम लामाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफको ८ औँ मिनेटमा वडा नं. ५ का जर्सी नम्बर ७ का सुजल वलले बराबरी गोल फर्काएपछि निर्धारित समय १–१ गोलको बराबरीमा सकिएको थियो।
त्यसपछि खेल पेनाल्टी हुँदै सडनडेथमा पुगेको थियो, जहाँ वडा नं. १३ ले ४–३ को अन्तरले जित निकाल्दै रोमाञ्चक विजय हासिल गर्यो। उत्कृष्ट प्रदर्शनका लागि वडा नं. १३ का प्रितम लामा ‘म्यान अफ दि म्याच’ घोषित भए। उनलाई स्वर्गीय विकल रेग्मीकी आमा कमला रेग्मीले ट्रफी प्रदान गर्नुभयो।
यसअघि प्रतियोगिताको उद्घाटन निजगढ नगरप्रमुख सुरथ पुरीले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै उहाँले गत वर्ष पहिरोमा परी ज्यान गुमाएका एन्फा एकेडेमीका प्रशिक्षार्थी तथा निजगढका युवा खेलाडी विकल रेग्मीको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। उद्घाटन कार्यक्रममा स्व. विकल रेग्मी तथा स्व. शम्भु थापामगरको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो।
कार्यक्रममा नगर उपप्रमुख सोममाया थिङ्ग, स्व. विकल रेग्मीकी आमा कमला रेग्मी, निजगढ फुटबल क्लबका प्रतिनिधिहरू, विभिन्न वडाका अध्यक्षहरू, स्थानीय जनप्रतिनिधि तथा खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
निजगढ नगर खेलकुद विकास समितिको आयोजनामा तथा निजगढ फुटबल क्लबको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भइरहेको हो। प्रतियोगितामा मुख्य रेफ्री नीलकमल चौधरी तथा सहायक रेफ्रीहरू लिलाम्बर चौधरी र राजु चौधरी रहेका थिए भने फोर्थ अफिसियलका रूपमा रियाजुल स्लाम रहेका थिए।
प्रतियोगिता अन्तर्गत आइतबार पनि दुई खेल सञ्चालन हुनेछन्। पहिलो खेल वडा नं. १ र वडा नं. १२ बीच दिउँसो २ बजे तथा दोस्रो खेल वडा नं. ३ र वडा नं. ८ बीच दिउँसो ३ बजे हुने आयोजकले जनाएको छ।

