Type Here to Get Search Results !

बारा–१ मा विजय यादव ‘निर्विज’को ठूलो वाचा: भूमिहीन र गरीबका लागि योजनाबद्ध नयाँ बस्ती निर्माण गर्ने प्रतिबद्धता

कलैया : बारा निर्वाचन क्षेत्र नम्बर १ मा आम जनता पार्टी (आजपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार विजय यादव ‘निर्विज’ले गरीब र भूमिहीन नागरिकका लागि योजनाबद्ध नयाँ बस्ती निर्माण गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेका छन्।

बारा–१ मा विजय यादव ‘निर्विज’को ठूलो वाचा: भूमिहीन र गरीबका लागि योजनाबद्ध नयाँ बस्ती निर्माण गर्ने प्रतिबद्धता


आदर्श कोतवाल गाउँपालिका वडा नं. ४ कोईलीडीह र हरनहिया, वडा नं. ३ बतरा, वडा नं. २ खजुरिया तथा बारागढी गाउँपालिकाको विसुनपूर्वा बजारमा आयोजित जनसम्पर्क तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।

जनतासँग प्रत्यक्ष संवाद, घरदैलो अभियान र विभिन्न सभामार्फत उनले आफ्नो मुख्य एजेन्डा सार्वजनिक गर्दै “जनता पहिलो, आजपा हाम्रो भरोसा!” भन्ने नारासहित चुनावी अभियानलाई तीव्र बनाएका छन्।

निर्विजले आवास, रोजगारी र आधारभूत सेवामा पहुँचलाई आफ्नो प्रमुख प्राथमिकता बनाएको स्पष्ट पार्दै भने, “घर नागरिकको अधिकार हो, विलासिता होइन।” उनले अझै हजारौँ परिवार सुरक्षित आवासबाट वञ्चित रहेको उल्लेख गर्दै आजपाको सरकार बनेपछि व्यवस्थित आवास परियोजना सञ्चालन गरी गरीब तथा भूमिहीनलाई स्थायी घर उपलब्ध गराइने दाबी गरे।

उनका अनुसार प्रस्तावित नयाँ बस्तीहरूमा स्वच्छ खानेपानी, स्वास्थ्य चौकी, विद्यालय, सडक, विद्युत्, शौचालय तथा डिजिटल सेवा लगायतका आधारभूत सुविधाहरू सुनिश्चित गरिनेछ। साथै, ती बस्तीहरूमा रोजगारी सिर्जना गर्ने कार्यक्रमसमेत समावेश गरिने उनले बताए।

“भूमिहीनलाई जमिन, गरीबलाई मकान—आजपाको विकास अभियान!” भन्ने नारालाई अगाडि सार्दै उनले मधेश क्षेत्रमा रहेको अव्यवस्थित बसोबास र गरिबीको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने लक्ष्य रहेको बताए।

निर्वाचन नजिकिँदै जाँदा यस्तो घोषणाले स्थानीय मतदाताबीच चासो बढाएको छ भने विकास र आधारभूत आवश्यकतामा केन्द्रित एजेन्डाले चुनावी बहसलाई थप रोचक बनाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.