Type Here to Get Search Results !

वीरगञ्ज श्रीपुर घटनामा दोषीलाई कानुनी कारबाही गर्ने सहमति, पर्सामा सर्वदलीय बैठक

 पर्सा । वीरगञ्ज महानगरपालिका–११ श्रीपुरमा आइतबार भएको घटनापछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन पर्सामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले दोषी पक्षलाई कानुनी दायरामा ल्याउने स्पष्ट सहमति गरेको छ।

वीरगञ्ज श्रीपुर घटनामा दोषीलाई


प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा सम्पन्न बैठकले पीडित पक्षबाट औपचारिक जाहेरी लिई आवश्यक कानुनी प्रक्रिया तीव्र गतिमा अघि बढाउने निर्णय गरेको छ। साथै, दोषी पहिचान गरी कारबाही प्रक्रिया प्रभावकारी बनाउन धार्मिक अगुवाहरूले सहजीकरण गर्ने सहमति समेत गरिएको छ।

प्रजिअ दाहालका अनुसार व्यक्तिगत घटना वा दुर्घटनालाई धार्मिक तथा सामाजिक सद्भाव बिगार्ने माध्यम बनाउने, भड्काउने खालका अभिव्यक्ति दिने, सामाजिक सञ्जालमार्फत दुष्प्रचार गर्ने तथा घृणा फैलाउने गतिविधिमा संलग्न जो–कोहीलाई साइबर कानुन तथा प्रचलित कानुन अनुसार तुरुन्तै कारबाही गरिनेछ।

बैठकले आगामी दिनमा जिल्लामा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्ने निर्णय गरेको छ। नागरिक समाज, राजनीतिक दल, सञ्चारकर्मी, धार्मिक अगुवा तथा जनप्रतिनिधिहरूले आ–आफ्नो संस्था र निकायबाट सद्भाव कायम राख्न अपिलसहितका विज्ञप्ति जारी गर्ने सहमति पनि गरिएको छ।

यसैबीच, पर्साका प्रहरी प्रमुख नरेन्द्रराज सुवेदीले घटनामा संलग्न दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, धार्मिक अगुवा तथा सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो।

घटनापछि जिल्लामा शान्ति र सद्भाव कायम राख्न प्रशासनले निगरानी बढाएको जनाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.