जितपुर, बारा: बारा निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। यस क्रममा नेपाली कांग्रेसका उम्मेदवार भैयाराम यादवले कृषि, सिँचाइ, शिक्षा, स्वास्थ्य र युवा रोजगारीलाई मुख्य एजेन्डा बनाउँदै घरदैलो अभियानलाई तीव्र बनाएका छन्।
बिहीबार उनले पचरौता नगरपालिकाका पिप्रपाती, चिकनी र बैरिया टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरे। बिहानदेखि साँझसम्म चलेको अभियानमा स्थानीय बासिन्दाले आफ्ना समस्या खुला रूपमा राखेका थिए।
मतदाताहरूले सिँचाइ अभाव, मल–बीउको समस्या, कृषि उत्पादनको बजार व्यवस्थापन र युवाहरूको वैदेशिक पलायन जस्ता मुद्दा उठाएका थिए।
यस क्रममा यादवले किसानमुखी कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउँदै आधुनिक कृषि प्रणाली, साना सिँचाइ आयोजना विस्तार, कृषि उपजको उचित बजारीकरण र सहुलियत कर्जाको पहुँच विस्तार गर्ने योजना प्रस्तुत गरे। “कृषि नै यस क्षेत्रको आधार हो, यसलाई आधुनिक र व्यावसायिक बनाउनु मेरो पहिलो प्राथमिकता हुनेछ,” उनले बताए।
उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्ने, सामुदायिक विद्यालयको गुणस्तर उकास्ने तथा स्वास्थ्य संस्थाको स्तरोन्नति गर्ने योजना सुनाए। साथै बेरोजगार युवाका लागि सीपमूलक तालिम र स्वरोजगार कार्यक्रम सञ्चालन गरी वैदेशिक पलायन घटाउनेमा जोड दिए।
घरदैलोका क्रममा उनले नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा मतदान गर्न आग्रह गर्दै आफूलाई जनताको सेवामा समर्पित हुने अवसर दिन मतदातासँग अपिल गरे।
बारा–२ मा यसपटक कृषि र रोजगारी मुख्य चुनावी मुद्दाका रूपमा उभिएको देखिएको छ।