Type Here to Get Search Results !

पर्सामा निर्वाचन लक्षित मदिरा बिक्री र सेवन पूर्ण प्रतिबन्धित, उल्लंघन गरे कडा कारबाही हुने

 कलैया : आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यले पर्सा जिल्लामा मदिराजन्य पदार्थको बिक्री, वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले सार्वजनिक सूचना जारी गर्दै यस्तो निर्णय लागू गरिएको जानकारी दिएको हो।

bara

सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलका अनुसार फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै जिल्लाभर मदिराजन्य गतिविधि रोक्ने निर्णय गरिएको हो। सार्वजनिक स्थानमा मदिराको प्रयोगले शान्ति सुरक्षा व्यवस्थामा असर पर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रशासनले कडाइ गरेको जनाएको छ।

निर्वाचन आयोग नेपालको निर्देशन, गृह मन्त्रालयबाट प्राप्त परिपत्र तथा जिल्ला सुरक्षा समितिको बिहीबार बसेको बैठकको निर्णयका आधारमा शुक्रबारदेखि यो आदेश लागू भएको हो। यो प्रतिबन्ध निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म कायम रहनेछ।

प्रशासनले जारी गरेको सूचनामा पर्सा जिल्लाभित्र मादक पदार्थको बिक्री, वितरण तथा सेवन नगर्न सबैलाई आग्रह गरिएको छ। साथै, आदेश उल्लंघन गरी मदिरा बिक्री वा सेवन गरेको पाइएमा प्रचलित कानून अनुसार कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ।

यस निर्णयले निर्वाचन अवधिमा सम्भावित अव्यवस्था, झडप वा अशान्ति रोक्न मद्दत पुग्ने विश्वास प्रशासनले व्यक्त गरेको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.