Type Here to Get Search Results !

जीतपुरसिमरा–१३ मा नयाँ वडा कार्यालय भवन उद्घाटन, अब सेवा थप सहज र व्यवस्थित

जितपुर बारा : जीतपुरसिमरा उपमहानगरपालिका–१३ ले स्थानीय तह स्थापना भएको साढे आठ वर्षपछि आफ्नै सुविधा सम्पन्न वडा कार्यालय भवन पाएको छ।

जीतपुरसिमरा–१३ मा नयाँ वडा कार्यालय भवन उद्घाटन, अब सेवा थप सहज र व्यवस्थित

बुधबार आयोजित एक समारोहका बीच नगरप्रमुख राजन पौडेल ले नवनिर्मित भवनको उद्घाटन गर्दै औपचारिक रूपमा सेवा प्रवाह सुरु गराएका हुन्।

स्थापनाकालदेखि नै सामुदायिक भवनको साँघुरो कोठाबाट सेवा सञ्चालन गर्दै आएको वडा नं. १३ अब पाँच कोठे आफ्नै आधुनिक भवनबाट सञ्चालनमा आएको छ। करिब ४५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको उक्त भवनले सेवाग्राहीलाई थप सहज, व्यवस्थित र प्रभावकारी सेवा प्रदान गर्ने विश्वास गरिएको छ।

वडाध्यक्ष हेमनारायण चौधरी ले लामो प्रतीक्षापछि आफ्नै भवनबाट सेवा दिन पाउनु वडा र स्थानीय बासिन्दाका लागि ठूलो उपलब्धि भएको बताए। सीमित स्थानका कारण देखिँदै आएका समस्या अब समाधान हुने र कर्मचारीलाई पनि प्रभावकारी रूपमा काम गर्न सहज हुने उनले उल्लेख गरे।

कार्यक्रममा बोल्दै उपमहानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत किरतीराज सुवेदी ले आफ्नै भवनबाट सेवा सञ्चालन हुनु कार्यसम्पादन मूल्यांकनका दृष्टिले समेत महत्वपूर्ण भएको बताए। साथै, साना उपभोक्ता समितिहरूले अब भुक्तानीका लागि नगरपालिकासम्म धाउनुपर्ने अवस्था अन्त्य गरी वडा कार्यालयबाटै प्रक्रिया सुरु गर्ने तयारी भइरहेको जानकारी दिए।

नगरप्रमुख पौडेलले उपमहानगरका २४ वडामध्ये २२ वटा वडाले आफ्नै भवनबाट सेवा दिइरहेको जानकारी दिँदै बाँकी वडाको पनि छिट्टै व्यवस्थापन गरिने बताए। उनले उपमहानगरलाई प्रविधिमैत्री र सेवाकेन्द्रित बनाउने प्रतिबद्धता समेत व्यक्त गरे।

कार्यक्रममा समाजसेवी रुपलाल चौधरी, वडा नं. १६ का अध्यक्ष हरिदेव खरेल तथा वडा नं. १२ का अध्यक्ष श्यामबाबु चौधरी ले शुभकामना मन्तव्य दिएका थिए।

कार्यक्रम सञ्चालन वडा सचिव अनिल पासवान ले गरेका थिए। नयाँ भवन सञ्चालनसँगै वडा नं. १३ लाई नमुना वडा बनाउने अपेक्षा गरिएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.