Type Here to Get Search Results !

बारामा मोटरसाइकल चोरी आतंक: ८ महिनामै ६१ सवारी हराए, सुरक्षामाथि गम्भीर प्रश्न

 बारा : बारामा पछिल्लो समय संगठित मोटरसाइकल चोरी गर्ने गिरोह सक्रिय बन्दै जाँदा चोरीका घटना तीव्र रूपमा बढेका छन्। सदरमुकाम कलैया लगायतका क्षेत्रमा बढ्दो चोरीका घटनाले सर्वसाधारणमा असुरक्षाको भावना बढेको छ।

जिल्ला प्रहरी कार्यालय बाराको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि फागुनसम्मको आठ महिनामा मात्रै ६१ वटा मोटरसाइकल चोरी भएका छन्। यो संख्या अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को कुल चोरीभन्दा बढी रहेको छ। आर्थिक वर्षका अझै चार महिना बाँकी रहँदा चोरीको दरले नयाँ रेकर्ड कायम गर्ने देखिएको छ।

सबैभन्दा चिन्ताजनक कुरा भनेको जिल्ला प्रहरी कार्यालयकै आसपासबाट समेत मोटरसाइकल चोरी हुनु हो। सोमबार मात्रै प्रहरी कार्यालयबाट करिब ५०० मिटरको दूरीमा रहेका दुई स्थानबाट दिनदहाडै दुई मोटरसाइकल चोरी भएका छन्। कलैया–६ मदर्सा टोलका अब्दुर रहिम अन्सारीको टिभिएस राइडर र कलैया–१ मोतिबागका साहेब अन्सारीको एनएस–२०० मोटरसाइकल हराएको हो।

पीडितहरूका अनुसार व्यस्त बजार क्षेत्रमा, प्रहरीको उपस्थितिकै बीचमा सवारी हराउनु गम्भीर सुरक्षा कमजोरीको संकेत हो। “प्रहरीकै नाकामुनि दिनदहाडै सवारी हराउँदा हामीले अब आफ्नो सम्पत्ति कहाँ सुरक्षित राख्ने?” पीडित अब्दुर रहिमले प्रश्न गरे।

rt


लगातार बढ्दो घटनाले प्रहरीको गस्ती, निगरानी र अनुसन्धान क्षमतामाथि प्रश्न उठेको छ। चोरी भएका मोटरसाइकलमध्ये थोरै मात्र फेला परेको र संलग्न गिरोहलाई पक्राउ गर्न नसकिएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन्।

स्थानीय बासिन्दाले बजारका मुख्य चोकहरूमा सिसीटिभी क्यामेरा अभाव र रातको समयमा कमजोर गस्तीलाई सुरक्षामा चुनौतीका रूपमा औंल्याएका छन्। यता प्रहरीले भने चोरीमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ।

बढ्दो चोरीका घटनाले बाराबासीहरूमा आफ्नै सवारी साधन पार्किङ गर्दा समेत डरको अवस्था सिर्जना भएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.