जीतपुर : बाराको जीतपुरसिमरा–१५ डुमरवानामा रहेको राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनले आफ्नो २४औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेको छ।
आइतबार आयोजित कार्यक्रम विद्यालय परिसरलाई पूर्ण रूपमा जीवन्त बनाउने खालको रह्यो। विद्यार्थीहरूको आकर्षक सांस्कृतिक प्रस्तुति, सम्मान कार्यक्रम र स्वादिष्ट परिकारले सजिएको फुड फेस्टिबलले अभिभावक तथा अतिथिहरूको मन जितेको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विदुर खड्काको अध्यक्षता तथा नगरप्रमुख राजन पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै वक्ताहरूले विद्यालयले शैक्षिक गुणस्तर मात्र होइन, अतिरिक्त क्रियाकलापमा समेत उल्लेखनीय उपलब्धि हासिल गर्दै आएको बताए। विद्यार्थीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याएको सहभागिता र सफलता विद्यालयको दूरदृष्टि र निरन्तर प्रयासको प्रतिफल भएको उल्लेख गरियो।
विद्यालयका निर्देशक श्यामप्रसाद भट्टराईले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै पछिल्ला वर्षहरूमा हासिल उपलब्धि, आगामी योजनाहरू तथा शैक्षिक सुधारका प्राथमिकताहरू सार्वजनिक गरे। उनले विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासन र व्यवहारिक सीप विकासलाई केन्द्रमा राखेर अघि बढिरहेको स्पष्ट पारे।
प्रमुख अतिथि नगरप्रमुख राजन पौडेलले विद्यालयले सक्षम शैक्षिक जनशक्ति उत्पादनसँगै खेलकुद र अतिरिक्त गतिविधिमा उल्लेखनीय सफलता हासिल गरेको बताए। मधेश प्रदेशबाट पहिलो पटक परराष्ट्र मन्त्रालयमा विद्यार्थी प्रतिनिधित्व हुन सफल भएको उदाहरण प्रस्तुत गर्दै उनले यसलाई विद्यालयको गौरवपूर्ण उपलब्धि भएको उल्लेख गरे।
उनले नयाँ शैक्षिक सत्रअघि शिक्षा ऐन तथा नियमावलीको गहिरो अध्ययन गर्दै सुधारका पहल आवश्यक रहेकोमा जोड दिए। साथै, विद्यार्थीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम बनाउन विद्यालय, अभिभावक र समुदायबीच सहकार्य अपरिहार्य रहेको बताए। आधारभूत तहको शैक्षिक गुणस्तर सुधारका लागि उपमहानगरपालिकाले कक्षा ५ को परीक्षा आफैं सञ्चालन गर्ने तयारी गरेको जानकारी पनि उनले दिए।
कार्यक्रममा जनता माध्यमिक विद्यालय रजघट्टाका प्रधानाध्यापक राजु अधिकारीले सामुदायिक विद्यालयमा उपलब्ध सेनिटरी प्याड सुविधा संस्थागत विद्यालयमा नपुग्नुबारे प्रश्न उठाउँदै समान व्यवहार हुनुपर्ने धारणा राखे।
वार्षिकोत्सवको अवसरमा ‘वर्ष अभिभावक सम्मान’बाट शिला बहादुर गुरुङ र राजेश्वर प्रसाद चौधरी सम्मानित भए भने ‘उत्कृष्ट कर्मचारी सम्मान’ अनिता दुलाल चौधरीलाई प्रदान गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्य तथा विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गर्दै आफ्नो प्रतिभा देखाएका थिए भने फुड फेस्टिबलमार्फत सिर्जनात्मकता झल्काएका थिए।
अभिभावकहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई अझ भव्य र स्मरणीय बनाएको थियो। कार्यक्रमको सञ्चालन शिक्षक किशोरबाबु श्रेष्ठले गरेका थिए।