जितपुर बारा : बारा जिल्लाका करैयामाई गाउँपालिका र देवताल गाउँपालिका मा बालविवाह अन्त्य गर्ने उद्देश्यले ‘बालविवाहमुक्त नेपाल’ सयदिने अभियान तीव्र रूपमा सञ्चालन भइरहेको छ।
Just Rights for Children को सहयोग तथा जनजागरण युवा क्लब बारा को सक्रियतामा सञ्चालन भइरहेको यो अभियान दुवै स्थानीय तहसँग समन्वय गर्दै अघि बढाइएको हो।
अभियान अन्तर्गत विद्यालय, महिला समूह, कृषक समूह, सहकारी संस्था, महिला स्वयंसेविका, थारु समुदायका कार्यक्रम तथा अन्य सार्वजनिक कार्यक्रमहरूमा पुगेर ‘बालविवाहमुक्त नेपाल’ घोषणा गर्ने प्रतिबद्धता संकलन गरिँदै आएको छ। साथै, पालिकाका जनप्रतिनिधि, कार्यपालिका सदस्य र विभिन्न शाखाहरूलाई पनि अभियानमा सक्रिय रूपमा सहभागी गराइएको छ।
अभियानका स्वयंसेवक बिनोद प्रसाद राम का अनुसार सयदिने अभियानअन्तर्गत हालसम्म करिब २० हजारभन्दा बढी महिला, पुरुष तथा विद्यार्थीहरूलाई बालविवाह नगर्ने र नगराउने सामूहिक प्रतिज्ञा गराइएको छ।
उनका अनुसार समुदायस्तरमै व्यापक सहभागिता सुनिश्चित गर्दै बालविवाहविरुद्ध जनचेतना अभिवृद्धि गर्नु र सामूहिक प्रतिबद्धतालाई सुदृढ बनाउनु अभियानको मुख्य प्राथमिकता हो। साथै, यस अभियानमार्फत स्थानीय तहमा दीर्घकालीन सामाजिक परिवर्तन ल्याउने लक्ष्य राखिएको छ।
नेपालमा कानुनी रूपमा विवाह गर्ने न्यूनतम उमेर २० वर्ष तोकिएको भए पनि विशेषगरी तराई–मधेश क्षेत्रमा अझै १८ वर्षभन्दा कम उमेरमै विवाह हुने प्रवृत्ति कायम रहेको देखिन्छ।
यस अभियानले समाजमा रहेको यस्तो कुप्रथाविरुद्ध सचेतना फैलाउँदै बालअधिकार संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।