जितपुर बारा :राष्ट्रिय स्वतन्त्र पार्टी लाई मधेश प्रदेशमा ठूलो झटका लागेको छ। पार्टीकी संस्थापक नेतृ ममता शर्मा ले साधारण सदस्यसमेत नरहने गरी राजिनामा दिएकी छन्।
उनले आफ्नो राजिनामा पत्र काठमाडौं स्थित पार्टीको केन्द्रीय कार्यालयमा पठाएकी हुन्। राजिनामा पत्रमा आफू मधेश प्रदेशकी संस्थापक अध्यक्ष तथा केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्यको रूपमा सक्रिय रहँदै आएको उल्लेख गरेकी छन्।
२०७९ साल श्रावण १० गतेदेखि पार्टीमा आवद्ध हुँदै आफ्नो योग्यता, क्षमता र समय निस्वार्थ रूपमा समर्पित गरेको उल्लेख गर्दै उनले पछिल्लो समय पार्टीको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी छन्।
उनले लेखेकी छन्, “युवा पुस्तालाई राजनीतिमा ल्याउने र योग्यलाई छान्ने मूल नाराबाट प्रेरित भएर पार्टीमा आएको हुँ। तर अहिले पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय प्रक्रिया र कार्यशैली स्थापनाकालीन मूल्य, विधान र सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत भएको अनुभव गरेकी छु।”
शर्माले संगठनभित्र काम गर्ने कार्यकर्ताको उचित मूल्यांकन नभएको, विधि–विधानविपरीत गतिविधि बढेको र पार्टीका सिद्धान्तहरू व्यवहारमा लागू नभएको आरोप लगाएकी छन्। उनले आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रभावित भएको गम्भीर आरोपसमेत लगाएकी छन्।
“यी सबै गतिविधिहरू देखेर मेरो आत्मसम्मान र राजनीतिक मूल्यमा आघात पुगेको छ। अब यस्तो अवस्थाको साक्षी बसेर मौन रहन सक्दिनँ,” उनले राजिनामा पत्रमा उल्लेख गरेकी छन्।
अन्त्यमा उनले आजकै मितिदेखि लागू हुनेगरी पार्टीको साधारण सदस्यसमेत नरहने निर्णय गरेको बताउँदै, अहिलेसम्म पार्टीबाट प्राप्त सहयोग, अवसर र सहकार्यका लागि धन्यवाद व्यक्त गरेकी छन्।
उनको राजिनामाले मधेश प्रदेशमा पार्टीको संगठन र आगामी रणनीतिमा प्रभाव पार्ने अनुमान गरिएको छ।