पर्सा, वीरगञ्ज — पछिल्लो समय वीरगञ्ज महानगर क्षेत्रमा घरमा कोही नभएको मौका छोपेर सुन–चाँदी तथा बहुमूल्य गरगहना चोरी हुने घटनामा वृद्धि देखिएको छ, जसले स्थानीय बासिन्दामा चिन्ता बढाएको छ।
माघ १२ गते वीरगञ्ज–१५ मा एनआई कलेज जाने सडक नजिकै रहेको श्यामकिशोर लाल कर्णको घरबाट करिब ५० लाख रुपैयाँ बराबरको सुन–चाँदी चोरी भएको घटना सार्वजनिक भएको छ। घरमा कोही नभएको अवस्थामा तीन जना अपरिचित व्यक्ति घरमा प्रवेश गरी बहुमूल्य गरगहना लिएर फरार भएका थिए।
image source AI GENERATED
त्यसको भोलिपल्ट माघ १३ गते वीरगञ्ज–१४ को लिङ्करोडस्थित वीरेन्द्र सिंहको घरबाट पनि सुन तथा घडी चोरी भएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता भएको छ। यद्यपि चोरी भएको सामग्रीको मूल्य यकिन भइसकेको छैन।
यी दुई घटनाले पछिल्लो समय घर खाली रहेको अवस्थालाई लक्षित गरेर चोरी हुने क्रम बढ्दै गएको स्पष्ट देखाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार केही दिनयता वीरगञ्ज क्षेत्रमा यस्ता चोरीका घटना बढेका छन् र प्रहरी अनुसन्धानमा सक्रिय रहेको छ। “उपलब्ध स्रोतसाधन र प्रविधिको प्रयोग गरेर चोरीमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ,” उनले बताए।
उनका अनुसार अधिकांश चोरीका घटना घरमा कोही नभएको अवस्थामा भएको अनुसन्धानले देखाएको छ। त्यसैले घरका सबै सदस्य बाहिर जानुपर्ने अवस्था आएमा स्थानीय प्रहरीलाई जानकारी गराउन उनले सर्वसाधारणलाई आग्रह गरेका छन्। “प्रहरीलाई पूर्व जानकारी दिएमा निगरानी बढाएर आवश्यक सुरक्षा व्यवस्था गर्न सकिन्छ,” उनले स्पष्ट पारे।
आर्थिक वर्षको तथ्यांक हेर्दा पनि पर्सामा चोरीका घटनाहरू उल्लेख्य छन्। चालु आर्थिक वर्षको माघ तेस्रो सातासम्म २६ वटा चोरीसम्बन्धी मुद्दा दर्ता भएका छन्। तीमध्ये ४४ जना प्रतिवादी पक्राउ परेका छन् भने नौ जना अझै फरार रहेका छन्। १३ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ भने २४ जना धरौटीमा छुटेका छन्। हाल छ जना अभियुक्तमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
गत आर्थिक वर्ष २०८१/८२ मा पर्सामा ३८ वटा चोरीका मुद्दा दर्ता भएका थिए। त्यसमा ५५ जना पक्राउ परेका थिए भने आठ जना फरार थिए। पक्राउ परेकामध्ये १७ जनालाई पुर्पक्षका लागि थुनामा राखिएको थियो भने ३६ जना धरौटीमा र दुई जना साधारण तारेखमा छुटेका थिए।
लगातार भइरहेका यस्ता घटनाले सुरक्षामा थप सतर्कता अपनाउनुपर्ने आवश्यकता औंल्याएको छ। प्रहरीले नागरिकलाई सचेत रहन र शंकास्पद गतिविधि देखिए तुरुन्त जानकारी दिन आग्रह गरेको छ।
