उद्घाटनअघि बिहानै मन्दिर परिसरबाट भव्य कलश यात्रा निकालिएको थियो। हात्ती, घोडा, पालकी र रथसहित सजिएको यात्रामा हजारौँ श्रद्धालु सहभागी भए। नगरका विभिन्न भागको परिक्रमा गर्दै पुनः मन्दिर परिसरमा पुगेपछि कलश यात्रा सम्पन्न भएको थियो।
उद्घाटन समारोहमा मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, पूर्वसांसद तथा नेकपा एमालेका उम्मेदवार अच्युत मैनाली, नेपाली कांग्रेसका उम्मेदवार शम्भुबहादुर बुढाथोकी, पूर्वमन्त्री पुरुषोत्तम पौडेल, निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरी लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
महामहोत्सवमा देश–विदेशका सन्त–महाजनहरूको समेत उल्लेखनीय सहभागिता रहेको छ। कार्यक्रममा श्री १०८ अमृतराज महाराजजी, श्री १०८ विदुषी तारा माताजी, श्री १०८ सुरेन्द्र महाराजजी लगायत धर्मगुरुहरूको उपस्थिति रहेको आयोजक समितिले जनाएको छ।
महामहोत्सवअन्तर्गत मण्डप अनुष्ठान, नित्य हवन, वेदपाठ, श्रीमद्भागवत पाठ, अन्नप्राशन, व्रतबन्ध, गुन्युचोली, ग्रहपूजन तथा वास्तुपूजनजस्ता विभिन्न वैदिक कर्मकाण्डहरू एकसाथ सञ्चालन भइरहेका छन्।
श्रीमद्भागवत महापुराण कथा महन्त श्री १०८ सुधाकर महाराजबाट वाचन हुने छ भने मृदुभाषी माताजी उषा घिमिरेले संगीतमय रूपमा श्रीमत्तारतम सागर ब्रह्मवाणी प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
त्यसैगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको सहभागितामा भजन–कीर्तन, गरबा रास नृत्य तथा विविध सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछ।
महामहोत्सव आयोजक समितिका संयोजक साहित्याचार्य जनार्दन घिमिरेका अनुसार यस कार्यक्रमले धार्मिक आस्था मात्र नभई सामाजिक एकता र सांस्कृतिक पहिचानलाई पनि थप मजबुत बनाउने अपेक्षा गरिएको छ।