कलैया, बारा — मुस्लिम समुदायले दिवंगत आफन्तहरूको सम्झना, आत्माको शान्ति र आफ्ना पापबाट क्षमा माग्ने उद्देश्यसहित शब–ए–बरात पर्व मंगलबार साँझदेखि श्रद्धा र भक्तिभावका साथ मनाएका छन्।
राति मनाइने यस पवित्र पर्वलाई ‘क्षमाको रात’ तथा ‘पुण्यको रात’का रूपमा लिइन्छ। यस अवसरमा कलैया उपमहानगरपालिका–१५ बकुलहरस्थित मस्जिदहरूमा मुस्लिम धर्मावलम्बीहरू भेला भई विशेष नमाज अदा गरेका छन्।
नेपाल मुस्लिम संघका केन्द्रीय महासचिव प्रवेज आलम अंसारी का अनुसार यस रात पवित्र कुरआन पाठ गर्ने, अल्लाहसँग आफ्ना गल्तीका लागि माफी माग्ने र दिवंगत आफन्तहरूको आत्माको शान्तिका लागि प्रार्थना गर्ने परम्परा रहेको छ।
वडा सदस्य ओहाब अंसारी ले शब–ए–बरातको अवसरमा कब्रिस्तान पुगेर ‘फातिहा’ पढ्ने परम्परा पनि रहेको जानकारी दिए। उनले घर–घरमा विशेष परिकार बनाएर छिमेकी तथा गरिब–दुःखीलाई वितरण गर्ने चलनले सामाजिक एकता बलियो बनाउने बताए।
धार्मिक मान्यताअनुसार यस पवित्र रातमा अल्लाहले मानिसहरूको भाग्य, जीविका, जीवन र मृत्यु सम्बन्धी निर्णय लेख्ने विश्वास गरिन्छ, जसका कारण यसलाई अत्यन्त महत्वपूर्ण रातका रूपमा मानिन्छ।
बारा जिल्लाका बकुलहर, मझौलिया, पुरैनिया, बसतपुर, पकडी, महेशपुर, गजभवानीपुर, नौतन, कलैया, जीतपुर, सितालपुरलगायत क्षेत्रहरूमा यो पर्व शान्तिपूर्ण वातावरणमा मनाइएको नेपाल मुस्लिम संघ ले जनाएको छ।
यस पर्वले धार्मिक आस्था मात्र नभई सामाजिक सद्भाव, आपसी सहयोग र मानवताको भावना सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको स्थानीयवासीले बताएका छन्।
