निजगढ, बारा : बाराको निजगढ नगरपालिकाले माघ २१ गते (बुधबार) स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ।नगरकार्यपालिकाको माघ १४ गते बसेको बैठकले श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव–२०८२ को उद्घाटन समारोहलाई मध्यनजर गर्दै एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतम का अनुसार माघ २१ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने उक्त महामहोत्सवको उद्घाटनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न बिदा घोषणा गरिएको हो।
नगरपालिकाका अनुसार सो दिन निजगढ नगरपालिकाअन्तर्गतका सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरू बन्द रहनेछन्।
श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल तथा श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव–२०८२ मूल समारोह समितिको आयोजनामा हुने सातदिने धार्मिक कार्यक्रमले निजगढ क्षेत्रलाई भक्तिमय बनाउने अपेक्षा गरिएको छ।
महामहोत्सवमा विभिन्न धार्मिक अनुष्ठान, प्रवचन तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछन्, जसले स्थानीयस्तरमा धार्मिक पर्यटन र सामाजिक एकता प्रवर्द्धन गर्ने विश्वास गरिएको छ।
