जितपुर बारा: कलैया उपमहानगरपालिका–३ बैजनाथपुर मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार अरविन्द साह ले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका साहले घरदैलोका क्रममा स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना योजना र प्राथमिकताहरूबारे जानकारी गराएका छन्। उनले संघीय सांसदको भूमिका स्थानीय साना कामभन्दा नीतिगत र कानुनी पहलमा केन्द्रित हुनुपर्ने स्पष्ट पारे।
“प्रतिनिधिसभा सदस्यको मुख्य जिम्मेवारी नीति निर्माण, बजेट सुनिश्चित गर्नु र सरकारलाई जवाफदेही बनाउनु हो,” भन्दै उनले आफ्नो कार्यदिशा प्रष्ट पारेका छन्।
घरदैलोका क्रममा साहले क्षेत्रका लागि आवश्यक ठूला पूर्वाधार विकासमा जोड दिएका छन्। उनले सडक स्तरोन्नति, सिंचाइ आयोजना, स्वास्थ्य संस्था विस्तार तथा शैक्षिक पूर्वाधार विकासका लागि संघीय बजेट सुनिश्चित गर्न सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।
कृषि क्षेत्र सुधारतर्फ ध्यान दिँदै उनले मल–बिउ आपूर्ति प्रणालीलाई पारदर्शी बनाउने तथा किसानमैत्री अनुदान नीति लागू गर्न कानुनी पहल गर्ने बताएका छन्। साथै, किसानलाई उचित बजार उपलब्ध गराउन संसदमा आवाज उठाउने प्रतिबद्धता पनि जनाएका छन्।
उद्योग–व्यवसाय प्रवर्द्धनलाई प्राथमिकता दिँदै साना तथा मध्यम उद्यमलाई कर र नीतिगत सहजीकरण गर्ने, साथै युवाका लागि रोजगारी सिर्जना गर्ने कार्यक्रम संघीय स्तरबाट ल्याउन पहल गर्ने उनको भनाइ छ।
त्यसैगरी नागरिकता, राहदानी र सामाजिक सुरक्षा जस्ता विषयमा देखिएका कानुनी जटिलता हटाउन आवश्यक संशोधन र सरलीकरणका लागि पहल गर्ने उनले बताएका छन्।
कार्यक्रमको अन्त्यमा साहले मतदातासँग आफूलाई भारी मतले विजयी गराउन अपिल गर्दै आफ्नो प्रतिबद्धता पूरा गर्ने विश्वास व्यक्त गरेका छन्।