रौतहट — चार वर्षीया बालिकाको ज्यान जाने गरी भएको सवारी दुर्घटनाले रौतहट क्षेत्र नम्बर २ मा तनाव सिर्जना गरेको छ। घटनामा संलग्न सवारी चालकविरुद्ध प्रहरीले पाँच दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बा १५ च ४२४४ नम्बरको कारका चालक, परोहा नगरपालिका–३ निवासी २७ वर्षीय शेख मुस्ताखलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न अदालतबाट पाँच दिनको म्याद लिइएको हो।
प्रहरी प्रवक्ता तथा डीएसपी विष्णु प्रदीप बस्यालले घटनाको गम्भीरताका आधारमा अनुसन्धान तीव्र बनाइएको जानकारी दिए।
बिहीबार दिउँसो करिब २ बजे इशनाथ नगरपालिका–३ मठिया टोलमा कारको ठक्करबाट चार वर्षीया बालिका अल्फा खातुनको घटनास्थलमै मृत्यु भएको थियो।
प्रारम्भिक अनुसन्धानअनुसार उक्त कार राष्ट्रिय स्वतन्त्र पार्टीका रौतहट क्षेत्र नम्बर २ का उम्मेदवार शेख सगिरको नाममा दर्ता रहेको खुलेको छ। सो सवारीसाधन चुनावी प्रचारमा प्रयोग भइरहेका बेला दुर्घटना भएको बताइएको छ।
घटनापछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन्। बालिकाको मृत्युले शोकमात्र होइन, सडक सुरक्षा र जिम्मेवारीप्रति गम्भीर प्रश्न उठाएको छ।
एकातिर निर्दोष बालिकाको ज्यान गएको दुःखद घटना छ भने अर्कोतर्फ राजनीतिक प्रतिक्रिया र बयानबाजीले पनि विषयलाई थप संवेदनशील बनाएको छ।
प्रहरीले घटनाको निष्पक्ष छानबिन भइरहेको बताउँदै दोषीमाथि कानुनी कारबाही गरिने स्पष्ट पारेको छ।