Type Here to Get Search Results !

सडक सुरक्षामा जोड: पथलैयाबाट एसपी बस्नेतको चन्द्रपुर ट्राफिक कार्यालय निरीक्षण

जितपुर बारा :सडक सुरक्षा र ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र बहादुर बस्नेत आइतबार रौतहटको चन्द्रपुरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय पुगे।

जितपुर बारा :

स्थलगत निरीक्षणका क्रममा उनले केवल कागजी मूल्यांकनमा सीमित नरही ट्राफिक प्रहरीहरूको दैनिक कार्यशैली, अनुशासन र जिम्मेवारीबोधलाई नजिकबाट अवलोकन गरे। कर्मचारीहरूको व्यक्तिगत टर्नआउटदेखि कार्यालय भवन, ब्यारेक, मेश र सरसफाइको अवस्थासम्म उनले सूक्ष्म रूपमा निरीक्षण गरेका थिए।

निरीक्षणपछि ट्राफिक प्रहरीहरूलाई सम्बोधन गर्दै एसपी बस्नेतले प्रहरी संगठनका मूल्य, मान्यता र व्यावसायिक आचारसंहिता पालनामा कुनै सम्झौता नगर्न स्पष्ट निर्देशन दिए। उनले सवारी दुर्घटना न्यूनीकरणलाई पहिलो प्राथमिकता बनाउनुपर्ने उल्लेख गर्दै जनचेतनामूलक कार्यक्रमहरूलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन जोड दिए।

“ट्राफिक व्यवस्थापन नियम लागू गर्ने काम मात्रै होइन, यो नागरिकको जीवन सुरक्षासँग प्रत्यक्ष जोडिएको जिम्मेवारी हो,” उनले भने, “त्यसैले प्रत्येक प्रहरी कर्मचारीले आफ्नो भूमिकालाई गम्भीरतापूर्वक बुझेर काम गर्नुपर्छ।”

उक्त अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगर ले जिल्लामा भइरहेको ट्राफिक व्यवस्थापनका प्रयास, उपलब्धि तथा चुनौतीबारे जानकारी गराएका थिए। उनले सडक सुरक्षा सुधारका लागि सञ्चालन गरिएका सचेतना कार्यक्रम र दुर्घटना न्यूनीकरणका गतिविधिहरूको विवरण प्रस्तुत गरेका थिए।

प्रहरी वरिष्ठ नायब निरीक्षक अम्बर बहादुर नेपालका अनुसार यस निरीक्षणले ट्राफिक प्रहरी कर्मचारीहरूमा नयाँ ऊर्जा थपेको छ। “हामी अझ जिम्मेवार र अनुशासित भएर सेवा दिन प्रेरित भएका छौं,” उनले बताए।

यो निरीक्षणले केवल प्रशासनिक मूल्यांकन मात्र नभई ट्राफिक प्रहरीहरूमा सेवा भाव, जिम्मेवारी र जनसुरक्षाप्रति प्रतिबद्धता थप मजबुत बनाएको विश्वास गरिएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.