निजगढ, बारा : बाराको निजगढ नगरपालिका–११ तपस्या स्थलस्थित तामागढी–रतनपुर भित्री सडकखण्डमा सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार साँझ करिब ५ः१५ बजे कोल गाउँबाट तामागढीतर्फ जाँदै गरेको ना.६२ प ३६६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक किनारको रुखमा ठोक्किँदा दुर्घटना भएको हो। एक्कासी भएको दुर्घटनाले आसपासका स्थानीयसमेत स्तब्ध बनेका थिए।
दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको टोलीले घाइतेहरूलाई तत्काल उद्धार गरी सिटी अस्पताल निजगढ पुर्याएको थियो। प्रारम्भिक उपचारपछि उनीहरूलाई थप उपचारका लागि एलएस न्युरो अस्पताल, बारामा रिफर गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा निजगढ नगरपालिका–१२ कोल गाउँका २८ वर्षीय रमेश गोलेको उपचारका क्रममा साँझ ६ः४९ बजे मृत्यु भएको हो। उनको अनुहार र टाउकोमा गम्भीर चोट लागेको थियो।
मोटरसाइकल चालक २६ वर्षीय सुजन स्याङतान र अर्का सवार २२ वर्षीय रोजन गोले गम्भीर घाइते भएका छन्। दुवैको टाउको र अनुहारमा चोट लागेको छ र हाल उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न मोटरसाइकल इलाका प्रहरी कार्यालय निजगढको नियन्त्रणमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।