बारा : गर्मी र सुख्खा मौसमसँगै बढ्दै गएको वन डढेलोको जोखिमलाई ध्यानमा राख्दै डिभिजन वन कार्यालय बाराले आइतबारदेखि जिल्लाभर “वन डढेलो सचेतना सप्ताह” कार्यक्रम सुरु गरेको छ। वन जोगाउने र सम्भावित क्षति न्यूनीकरण गर्ने लक्ष्यसहित सुरु गरिएको अभियान विभिन्न पालिकामा विस्तार गरिएको छ।
सप्ताहको पहिलो दिन निजगढ नगरपालिका, कोल्हबी नगरपालिका र जीतपुरसिमरा उपमहानगरपालिकाका विभिन्न स्थानमा माइकिङ्ग गर्दै सर्वसाधारणलाई वन डढेलोबाट हुने जोखिमबारे जानकारी गराइएको थियो। सडक, बजार र बस्ती क्षेत्रहरूमा “वन जोगाऔँ, जीवन बचाऔँ” र “वन डढेलो नियन्त्रण सबैको दायित्व” जस्ता सन्देशसहित जनचेतना फैलाइएको थियो।
कार्यक्रममा जिल्लाभरका सामुदायिक तथा साझेदारी वन उपभोक्ता समूहका प्रतिनिधिहरू ब्यानर र प्लेकार्डसहित उत्साहजनक रूपमा सहभागी भएका थिए। यसले अभियानलाई अझ प्रभावकारी र जनस्तरमै पुग्ने बनाएको आयोजकको भनाइ छ।
कार्यक्रमलाई सम्बोधन गर्दै डिभिजन वन कार्यालय बाराका डिभिजनल वन अधिकृत राजीव कुमार झाले वन क्षेत्रमा आगलागी हुँदा “तिम्रो–मेरो” नभनी सबै मिलेर आगो नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले वन डढेलोले वनस्पति, वन्यजन्तु र वातावरणमा गम्भीर असर पार्ने भएकाले समयमै नियन्त्रण गर्न स्थानीय समुदायको सक्रियता अत्यन्त आवश्यक रहेको बताउनुभयो।
उहाँले प्रत्येक वन उपभोक्ता समूहलाई सार्वजनिक स्थानमा दमकल, प्रहरी र सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर राख्न निर्देशन दिँदै आकस्मिक अवस्थामा तत्काल सूचना आदान–प्रदान गरी क्षति कम गर्न सकिने उल्लेख गर्नुभयो।
डिभिजन वन कार्यालयका अनुसार सप्ताहभर जिल्लाका विभिन्न वन क्षेत्रमा र्याली, अन्तरक्रिया, माइकिङ्ग तथा अन्य जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछन्। वन क्षेत्रमा आगो लगाउने, सिगरेट वा आगोका सामग्री जथाभावी फाल्ने तथा असावधानीपूर्वक आगो बाल्ने जस्ता गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।
वन, जैविक विविधता र वातावरण जोगाउन स्थानीय समुदाय, वन उपभोक्ता समूह, सुरक्षा निकाय तथा सरोकारवाला सबैको सहकार्य अपरिहार्य रहेको कार्यालयले जनाएको छ।
निजगढबाट सुरु भई पुनः निजगढमै समापन भएको पहिलो दिनको औपचारिक कार्यक्रमको सहजीकरण डिभिजन वन कार्यालय बाराका रेञ्जर निरज पोख्रेलले गर्नुभएको थियो।