Type Here to Get Search Results !

बारामा कुष्ठरोगबारे अभिमुखिकरण, ‘डर होइन, समयमै उपचार नै समाधान

 बारा : बारा जिल्लामा कुष्ठरोगप्रति रहेको डर, भ्रम र भेदभाव हटाउँदै समयमै उपचारतर्फ प्रेरित गर्ने उद्देश्यले सरोकारवाला निकायका प्रतिनिधि तथा सञ्चारकर्मीलाई लक्षित गरी एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। द लेप्रोसी मिसन नेपालको आयोजनामा स्वास्थ्य तालिम केन्द्र पथलैयाको सभाहलमा कार्यक्रम गरिएको हो।

बारामा कुष्ठरोगबारे अभिमुखिकरण, ‘डर होइन, समयमै उपचार नै समाधान

कार्यक्रममा कुष्ठरोगको पहिचान, उपचार र रोकथामका उपायबारे विस्तृत जानकारी दिइएको थियो। द लेप्रोसी मिसन नेपालका प्रोजेक्ट म्यानेजर अमजद अली मिकरानीले कुष्ठरोग कुनै श्राप वा अन्धविश्वास नभई जीवाणुबाट सर्ने तर पूर्ण रूपमा उपचारयोग्य रोग भएको स्पष्ट पार्नुभयो। उहाँले छालामा संवेदना कम हुनु, सेतो वा रातो दाग देखिनु, हातखुट्टा झमझम हुनु जस्ता प्रारम्भिक लक्षण देखिएमा ढिलाइ नगरी स्वास्थ्य संस्थामा जाँच गराउन आग्रह गर्नुभयो।

“समयमै पहिचान भएर नियमित औषधि सेवन गरेमा कुष्ठरोग निको हुन्छ, त्यसैले रोग लुकाउने वा ढिला गर्ने प्रवृत्ति हटाउनुपर्छ,” उहाँले जोड दिनुभयो।

कार्यक्रममा सहभागीहरूले समाजमा अझै पनि कुष्ठरोगप्रति रहेको नकारात्मक सोच हटाउन तथ्यमा आधारित सूचना प्रवाह आवश्यक रहेको बताएका छन्। सञ्चारमाध्यमले जनचेतनामूलक सामग्री प्रसारण गरेमा रोगको पहिचान र उपचारमा पहुँच बढ्ने र समाजमा सकारात्मक धारणा विकास हुने विश्वास व्यक्त गरिएको छ।

प्रस्तुत तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को माघसम्म बारा जिल्लामा ४४ जना नयाँ कुष्ठरोगी भेटिएका छन्, जसमा १४ वर्षमुनिका ४ जना बालबालिका रहेका छन्। गत आर्थिक वर्षमा भने १३७ जना नयाँ बिरामी फेला परेका थिए। त्यस्तै, चालु वर्षको माघसम्म जीतपुरसिमरा उपमहानगरपालिकामा मात्रै १३ जना नयाँ बिरामी देखिएको छ, जसले यहाँ लक्षित कार्यक्रम आवश्यक रहेको संकेत गरेको छ।

बारामा कुष्ठरोगबारे अभिमुखिकरण, ‘डर होइन, समयमै उपचार नै समाधान

कार्यक्रममा आगामी चैत ४ गते कलैयामा निःशुल्क कुष्ठरोग परीक्षण तथा उपचार शिविर सञ्चालन गरिने जानकारी पनि दिइएको छ। यस्ता शिविर प्रत्येक दुई महिनामा आयोजना गरिने योजना रहेको आयोजकले जनाएको छ। लक्षण देखिएका व्यक्तिहरूलाई निःशुल्क जाँच र उपचारका लागि शिविरमा सहभागी हुन आग्रह गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य कार्यालय बाराका प्रमुख चेतराज पण्डितले कुष्ठरोग निवारणका लागि द लेप्रोसी मिसन नेपालसँग निरन्तर सहकार्य भइरहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार स्वास्थ्य शिक्षा, जनचेतना र सक्रिय खोजपड्तालका कारण रोग पहिचान र उपचारमा सुधार आएको छ। “समयमै उपचार सुरु भएका कारण बिरामीहरूमा जटिल अवस्था देखिन पाएको छैन,” उहाँले भन्नुभयो।

त्यसैगरी जीतपुरसिमरा उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसादले दिगो विकास लक्ष्य २०३० अन्तर्गत कुष्ठरोग निवारणका लागि सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले समुदायस्तरमै सचेतना फैलाएर बिरामीलाई लुकाउने होइन, उपचारतर्फ ल्याउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रवि कुमार भाष्कर, द लेप्रोसी मिसन नेपालकी प्रोजेक्ट म्यानेजर सीता बिष्ट, बारा जिल्ला फोकल पर्सन दिपेश यादवलगायत विभिन्न संघसंस्था तथा सञ्चारमाध्यमका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.