बारा : सिमरा–डुमरबाना स्कुल हब, सिमराको आयोजनामा सम्पन्न हाजिरजवाफ प्रतियोगितामा अक्षरा पाठशाला प्रथम स्थान हासिल गर्न सफल भएको छ। सिमरास्थित सिमरा कलेजको सभाहलमा आयोजित प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले ज्ञान, तर्कशक्ति र द्रुत उत्तर दिने क्षमतामा प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगितामा सिमरा पब्लिक स्कुल (एस.पि.ई.एस.) द्वितीय तथा बारा एकता एकेडेमी तृतीय स्थानमा रहन सफल भएका छन्। आयोजकका अनुसार प्रतियोगितामा क्षेत्रका कुल ९ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो, जसले कार्यक्रमलाई अझ प्रतिस्पर्धात्मक र रोचक बनाएको थियो।
उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरूले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका थिए। आयोजकका अनुसार यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा सामान्य ज्ञान, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमता विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने गरेका छन्।
कार्यक्रम सिमरा–डुमरबाना स्कुल हबका संयोजक वसन्त ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा सिमरा कलेज विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधुकर अधिकारी सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा बोल्दै अधिकारीले यस्ता शैक्षिक गतिविधिले विद्यार्थीहरूको प्रतिभा उजागर गर्नुका साथै विद्यालयहरूबीच सहकार्यको वातावरण मजबुत बनाउने उल्लेख गर्नुभयो।
कार्यक्रमकै अवसरमा स्कुल हबको तर्फबाट सिमरा कलेजलाई २५ थान प्लास्टिकका कुर्सी हस्तान्तरण गरिएको थियो। यस सहयोगले कलेजमा हुने विभिन्न शैक्षिक तथा सह–पाठ्यक्रम गतिविधि सञ्चालनमा सहजता पुग्ने विश्वास व्यक्त गरिएको छ।
संयोजक ढकालले जानकारी दिँदै २०८२ सालभित्र हबले आफ्नो वार्षिक क्यालेन्डर अनुसार २१ वटा प्रतियोगिता सञ्चालन गरिसकेको बताउनुभयो। सिमरा र डुमरबाना क्षेत्रका १२ वटा विद्यालय आबद्ध रहेको हबले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धिमा योगदान गर्ने लक्ष्य लिएको छ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता प्रतियोगिताले ज्ञान आदान–प्रदान, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न ठूलो सहयोग पुगेको बताएका छन्।