Type Here to Get Search Results !

चोरी शिकारीमा युवाको प्रयोग हुनसक्ने जोखिम: उपप्रमुख थिङ्ग

बारा: निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्गले चोरी शिकारीजस्ता आपराधिक गतिविधिमा गाउँघरका सोझा तथा बेरोजगार युवाहरू तस्करहरूको निशानामा पर्न सक्ने खतरा औंल्याएकी छन्। उनले यस्तो जोखिम न्यूनीकरणका लागि समुदायस्तरमै सचेतना र सक्रियता बढाउनुपर्नेमा जोड दिएकी हुन्।

खिम: उपप्रमुख थिङ्ग


मानव–वन्यजन्तु सहअस्तित्व कायम गर्दै संरक्षणसम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको दुईदिने प्रशिक्षक प्रशिक्षण (ट्रेनिङ अफ ट्रेनर्स) कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेकी हुन्। “समुदाय सचेत र सक्रिय भए मात्रै यस्ता अवैध गतिविधि नियन्त्रण गर्न सम्भव हुन्छ,” उनले भनिन्।

निजगढ नगरपालिका–८ स्थित होटल तारा ईनमा बुधबारबाट सुरु भएको उक्त तालिम पशुपति सामुदायिक वन उपभोक्ता समूह, निजगढ–१२ (कोलगाउँ) को आयोजनामा सञ्चालन भइरहेको छ। कार्यक्रम तराई भू–परिधि तथा संरक्षण कार्यक्रमको सहकार्यमा सम्पन्न हुँदैछ।

तालिममा पर्सा राष्ट्रिय निकुञ्जका सहायक अधिकृत सन्तोष भगत, डिभिजन वन कार्यालय सिमराकी अधिकृत वर्षा लामा, तराई भू–परिधि तथा संरक्षण कार्यक्रमका सुपरभाइजर युवराज घतानी तथा रौतहट फेकोफनका अध्यक्ष वेदरी दाहालले सहजीकरण गरिरहेका छन्। सहभागीहरूलाई वन्यजन्तु संरक्षण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र समुदायको भूमिकाबारे व्यवहारिक ज्ञान प्रदान गरिने जनाइएको छ।

कार्यक्रम पशुपति सामुदायिक वन उपभोक्ता समूहका सिविएपियु अध्यक्ष विनोद भण्डारीको अध्यक्षतामा सुरु भएको हो। उद्घाटन सत्रमा प्रमुख अतिथि थिङ्गले ब्यानर वाचन गर्दै औपचारिक रूपमा कार्यक्रमको शुभारम्भ गरेकी थिइन्।

स्थानीयस्तरमा संरक्षणसम्बन्धी जनचेतना विस्तार गर्दै युवाहरूलाई सकारात्मक दिशातर्फ प्रेरित गर्ने लक्ष्यसहित आयोजना गरिएको यो तालिमले आगामी दिनमा समुदायलाई थप सशक्त बनाउने विश्वास गरिएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.