जीतपुर–सिमरा — माध्यमिक शिक्षा परीक्षा (एसईई) नजिकिँदै जाँदा विद्यार्थीलाई प्रभावकारी तयारी गराउने उद्देश्यले सिमरा–डुमरवाना स्कुल हबको आयोजनामा एकदिने विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
डुमरवानामा आयोजित यस कार्यक्रममा ठूलो संख्यामा परीक्षार्थी विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रशिक्षणको मुख्य उद्देश्य विद्यार्थीलाई विषयवस्तुको गहिरो बुझाइ, सही अध्ययन विधि तथा उत्कृष्ट नतिजा हासिल गर्ने रणनीतिबारे मार्गदर्शन गर्नु रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा विज्ञान विषयका पुस्तकका लेखक पी.के. झा र सामाजिक विषयका लेखक नारायण प्रसाद खतिवडा ले सहजीकरण गर्नुभएको थियो। उहाँहरूले पाठ्यक्रमको संरचना, सम्भावित प्रश्नहरूको विश्लेषण, प्रभावकारी उत्तर लेखन शैली, समय व्यवस्थापन तथा परीक्षाका क्रममा हुने सामान्य त्रुटिबारे विस्तृत रूपमा जानकारी दिनुभयो।
प्रशिक्षणलाई अझ व्यावहारिक बनाउन विद्यार्थीहरूलाई नमुना प्रश्नहरू अभ्यास गराउँदै उत्तर लेखन सीपमा सुधार ल्याउने प्रयास गरिएको थियो। यसले विद्यार्थीमा आत्मविश्वास बढाउनुका साथै परीक्षा तयारीलाई व्यवस्थित बनाउन सहयोग पुगेको सहभागीहरूले बताएका छन्।
कार्यक्रममा बोल्दै राजन पौडेल ले प्रारम्भिक कक्षादेखि नै सही अध्ययन पद्धति अपनाउनुपर्नेमा जोड दिनुभयो। “घोकन्ते शैलीभन्दा बुझेर पढ्ने बानी विकास गर्न सके मात्रै दीर्घकालीन सफलता सम्भव हुन्छ,” उहाँको भनाइ थियो।
सिमरा–डुमरवाना स्कुल हबका संयोजक बसन्त ढकाल ले शैक्षिक सत्र २०८२ अन्तर्गत यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइँदै आएको जानकारी दिनुभयो। उहाँका अनुसार आगामी दिनमा पनि विषयगत तालिम, अभिमुखीकरण तथा शैक्षिक परामर्श कार्यक्रम सञ्चालन गरिनेछ।
कार्यक्रममा शिक्षक, अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले प्रशिक्षणलाई उपयोगी, व्यावहारिक र प्रेरणादायी भएको प्रतिक्रिया दिएका छन्। आयोजकले यस्ता कार्यक्रमले विद्यार्थीको परीक्षा तयारीमा सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरेका छन्।