Type Here to Get Search Results !

जीतपुरसिमरामा शिव पुराण महायज्ञ: ९.४५ लाख बचत, सामाजिक काममा प्रयोग गरिने

जीतपुर, बारा :  जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहामा सम्पन्न शिव पुराण महायज्ञको आय–व्यय विवरण सार्वजनिक गर्दै आयोजक समितिले उल्लेखनीय बचत भएको जानकारी दिएको छ।

जीतपुरसिमरामा शिव पुराण महायज्ञ: ९.४५ लाख बचत, सामाजिक काममा प्रयोग गरिने

महायज्ञ समितिका सचिव नवीन खड्का का अनुसार महायज्ञका क्रममा दाताहरूबाट कुल २१ लाख ८० हजार ३ सय ४९ रुपैयाँ संकलन भएको थियो। सोमध्ये १२ लाख ३४ हजार ४ सय २८ रुपैयाँ खर्च हुँदा ९ लाख ४५ हजार ९ सय २१ रुपैयाँ बचत भएको छ। साथै अझै १ लाख १३ हजार रुपैयाँ उठ्न बाँकी रहेको पनि समितिले जनाएको छ।

नगद सहयोगसँगै जिन्सी सहयोग पनि उल्लेखनीय रहेको छ। विवरणअनुसार करिब २६ हजार रुपैयाँ बराबरको सोफा, ३४ हजार रुपैयाँ बराबरको रंग–पेन्ट तथा पोडियम दाताहरूबाट प्राप्त भएका छन्।

माघ २६ गतेदेखि सुरु भई फागुन ७ गतेसम्म ११ दिन सञ्चालन भएको उक्त महायज्ञमा दैनिक पूजाआजा, कथा वाचन, भजन–कीर्तनलगायत धार्मिक कार्यक्रमहरू सम्पन्न भएका थिए। स्थानीय भक्तजनहरूको उत्साहजनक सहभागिताले कार्यक्रम थप सफल बनेको आयोजकले जनाएको छ।

समितिका अध्यक्ष भुव प्रसाद ढकाल ले बचत रकम दीर्घकालीन सामाजिक तथा धार्मिक कार्यमा उपयोग गरिने जानकारी दिए। उनका अनुसार धर्मशाला निर्माण, ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालन, नियमित भजन–कीर्तन तथा अक्षयकोष स्थापना गर्ने योजना अघि सारिएको छ।

आयोजक समितिले धर्म, संस्कृति र परम्पराको संरक्षणसँगै समाजमा नैतिकता र सद्भाव फैलाउने उद्देश्यले महायज्ञ आयोजना गरिएको जनाएको छ। विशेषगरी युवा पुस्तालाई सामाजिक उत्तरदायित्वप्रति सचेत बनाउने लक्ष्य पनि यसमा राखिएको थियो।

आय–व्यय सार्वजनिक गर्दै समितिले पारदर्शिताप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ र कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै दाता, स्वयंसेवक तथा स्थानीयवासीप्रति आभार व्यक्त गरेको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.