निजगढ, बारा : बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर १२ मा रहेको बुद्धज्योती सामुदायिक वन उपभोक्ता समितिले नयाँ नेतृत्व पाएको छ। सोमबार सम्पन्न आमभेलाबाट बुद्धिलाल तितुङ सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका छन्।
समुदायको विश्वास र सहमतिबाट चयन भएको नयाँ कार्यसमितिमा उपाध्यक्षमा जितबहादुर स्याङ्तान, सचिवमा सोनी घलान, सह–सचिवमा टिकाराम थोकर र कोषाध्यक्षमा दुर्गादेवी भण्डारी चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा आनन्द लुङ्बा, तिर्थकुमारी गोङ्बा, रविना लुङ्बा र विक्रम गोले रहेका छन्।
समितिले अनुभवी व्यक्तिहरूलाई सल्लाहकारका रूपमा पनि चयन गरेको छ। सल्लाहकारमा देवराज खनाल, सिताराम खतिवडा, युवक मोक्तान, सोनम सिंह गोले, अवतार वाईबा, ज्ञानबहादुर दोङ र कृष्णप्रसाद धमला रहेका छन्।
आमभेला समूहका अध्यक्ष ज्ञानबहादुर दोङको अध्यक्षतामा सम्पन्न भएको थियो भने रतनपुरी सब–डिभिजन वन कार्यालयका प्रमुख कपिलदेव प्रसाद यादव प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा निजगढ–१२ का वडा सदस्य चन्द्रमान तामाङ, फेकोफन निजगढ नगर उपाध्यक्ष धनबहादुर खुलाल, पूर्व अध्यक्षहरू तथा विभिन्न सामुदायिक वनका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कपिलदेव प्रसाद यादवलगायत वक्ताहरूले सामुदायिक वनको संरक्षण, दिगो व्यवस्थापन र उपभोक्ताको सक्रिय भूमिकाबारे जोड दिएका थिए। उनीहरूले नयाँ कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
स्थानीय समुदायको सहभागिता र सहकार्यबाट अघि बढ्ने सामुदायिक वन व्यवस्थापन प्रणालीमा नयाँ नेतृत्वले थप ऊर्जा र प्रभावकारिता ल्याउने अपेक्षा गरिएको छ।
