बारा, निजगढ : निजगढ नगरपालिका वडा नं. ११ रतनपुरस्थित श्री जनमुखी सामुदायिक वन उपभोक्ता समूहको १५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। समुदायको सक्रिय सहभागिताबीच आयोजित सभा समूहका अध्यक्ष सुरेशराम गुरोको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा वडा नं. ११ का वडा अध्यक्ष सहईया गुरोको उपस्थिति रहेको थियो। सभाको सुरुवातमा किशोरीदेवि गुरोले स्वागत मन्तव्य व्यक्त गर्दै उपस्थित सबैलाई आत्मीय स्वागत गरेकी थिइन्।
त्यसैगरी कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) निजगढ नगरका उपाध्यक्ष धनबहादुर खुलाल, तपोभूमि सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तुलसी राउत तथा सब–डिभिजन वन कार्यालय रतनपुरका प्रमुख कपिलदेव प्रसाद यादवलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै फेकोफन उपाध्यक्ष धनबहादुर खुलाल, तुलसी राउत र कपिलदेव प्रसाद यादवले सामुदायिक वनको संरक्षण, व्यवस्थापन र दिगोपनाका विषयमा आ–आफ्ना धारणा राखेका थिए। उनीहरूले वन संरक्षणमा समुदायको भूमिका अझ सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सहईया गुरोले सामुदायिक वनलाई समुदायले संरक्षण गर्ने र त्यसको लाभ पनि समुदायले नै लिने महत्वपूर्ण संस्था भएको बताए। उनले वनबाट उत्पादन हुने सामग्रीको मूल्य सरकारले निर्धारण गर्ने वर्तमान नीतिले उपभोक्तालाई पूर्ण लाभ दिन नसकेको उल्लेख गर्दै त्यसमा सुधार आवश्यक रहेको धारणा राखे। साथै, वन कार्यालय र सम्बन्धित मन्त्रालयलाई समुदायमैत्री नीति निर्माण गर्न आग्रह समेत गरेका थिए।
सभाकै अवसरमा संस्थापक अध्यक्ष ओमप्रकाश कुमारलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो, जसले कार्यक्रममा विशेष भावनात्मक वातावरण सिर्जना गरेको थियो।
त्यसैगरी, साधारण सभाले सह–सचिव किशोरीदेवि गुरोलाई सचिव पदमा नियुक्त गर्ने महत्वपूर्ण निर्णय पनि गरेको छ।
कार्यक्रममा उपभोक्ता, स्थानीय बासिन्दा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो। सामुदायिक वनको संरक्षण र व्यवस्थापनमा समुदायको निरन्तर प्रतिबद्धता झल्काउने यस सभाले आगामी दिनमा अझ प्रभावकारी काम गर्ने अपेक्षा गरिएको छ।
