जितपुर बारा— प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन बारा जिल्ला मा सुरक्षा व्यवस्था कडा पारिएको छ। यसै क्रममा पासबिना सञ्चालनमा रहेका १०० भन्दा बढी सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय बारा का अनुसार आज कार्यालय परिसर तथा जिल्लाका विभिन्न स्थानहरूमा गरिएको सवारी चेकजाँचका क्रममा निर्वाचन पास नभएका मोटरसाइकल तथा अन्य सवारीसाधन नियन्त्रणमा लिइएको हो।
निर्वाचन अवधिमा सम्भावित जोखिमलाई न्यून गर्दै शान्तिपूर्ण वातावरण सुनिश्चित गर्न सवारी आवागमनमा विशेष निगरानी बढाइएको प्रहरीले जनाएको छ।
प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डित का अनुसार नियन्त्रणमा लिइएका सवारीसाधनलाई निर्वाचन प्रक्रिया सम्पन्न भएपछि बेलुका ५ बजेदेखि क्रमशः छाडिनेछ।
प्रहरीले प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गराउने लक्ष्यसहित जिल्लाभर सुरक्षा जाँचलाई थप कडाइ गरेको जनाएको छ।